तुलसीपुर, ११ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष भूपबहादुर केसीले देशको समृद्धिका लागि बालबालिकामा लगानी गर्नुपर्ने बताउनुभएको छ । वडा कार्यालयले आयोजना गरेको बालअधिकार तथा बालमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष केसीले बालबालिकाहरुमा आज गरिएको लगानी नै भोलिका लागि देशको समृद्धिको आधार भएको बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै वडा नं. १७ का अध्यक्ष थलराज पुरीले सरकारले बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि तुलसीपुर उपमहानगरपालिकाले लगानी गरिरहेको बताउनुभयो । बालबालिकाको बृहत्तर हितमा आफूहरुले विभिन्न कार्यक्रमहरु तय गरेको बताउँदै उहाँले यसको नतिजा अबका केही वर्षमै देखिने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा बालअधिकार, बालबालिकासम्बन्धी संवैधानिक तथा नीतिगत व्यवस्था, बालमैत्री स्थानीय शासनको अवधारणा, अबलम्बन प्रक्रिया र खुड्किलाहरु, बालमैत्री स्थानीय शासनका सूचकहरु, बालमैत्री घोषणा प्रक्रिया तथा तयारीहरु लगायतका विषयमा अभिमुखीकरण दिइने आयोजकले जनाएको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का २५ बढी व्यक्तिहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा जे.एन. सागर र किरण गौतम रहनुभएको छ । कार्यक्रमको उद्घाटनसत्रको सञ्चालन वडा नं. १६ का सचिव राजेन्द्र केसीले गर्नुभएको थियो ।












