दार्मा, १८ फागुन । दार्मा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योति मावि फारुलाचौरले हात पारेको छ । जम्मा २८ पदक हात पार्दै जनज्योति माविले रनिङ शिल्ड जित्न सफल भएको हो । २८ विधाका विभिन्न खेलमा जनज्योति माविले १८ स्वर्ण, ८ रजत र २ काश्यपदक हात पार्न सफल भएको थियो ।
५ स्वर्ण, ९ रजत र ९ काश्यपदक सहित नेपाल राष्ट्रिय मावि ढाकाडामकोट द्वितीय भएको छ भने ३ स्वर्ण, ३ रजत र ५ काश्यसहित ११ पदक जितेर सूर्योदय मावि गोठीवन तृतीय भएको छ । दार्मा गाउँपालिकाद्वारा आयोजना गरिएको रनिङ शिल्ड प्रतियोगितामा छात्र तथा छात्राका भलिबल, कबड्डी, एथ्लेटिक्सलगायतका २८ विधाका खेलहरुमा माध्यमिक तहका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा विजेता समूह तथा खेलाडीहरुलाई दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष टीका शर्मा ओली, निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अर्को वर्षको रनिङ शिल्ड सूर्योदय मावि गोडीवनमा हुने आयोजकले बताएको छ ।












