दाङ, १० माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले जोखिम क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि म्यादी जीवन बिमा गरिदिएको छ । वडाले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड दाङ उपशाखासँगको सहकार्यमा पहिलो चरणमा २०० बढी नागरिकको म्यादी जीवन बिमा गर्न लागेको वडा अध्यक्ष मोहनलाल पौडेलले बताउनुभयो । वडामा रहेका गाडी चालक, अटो चालक, कृषि फर्म, कुखुरा फर्म, घर निर्माण, वायरिङ लगायतका क्षेत्रमा कार्यरत नागरिकहरुको जोखिम बहनका लिग बीमा गरिएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष पौडेलका अनुसार १८ देखि ५५ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गरी चालु आर्थिक वर्ष २०८१/२०८२ को बजेटबाट बीमा गरिएको हो । उहाँले हाल छुटेका नागरिकलाई समेत बीमा गरिदिन सकिने भएकोले वडासँग सम्पर्क राख्न आग्रह गर्नुभएको छ ।
जारी गरिएको बीमा पोलिसी अनुसार बिमित नागरिकले दुर्घटना भएर उपचार गराउँदा १० हजार रुपैयाँसम्म भुक्तानी, दुर्घटनाबाट मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ र अन्य कारणले मृत्यु भएमा परिवारलाई १ लाख रुपैयाँसम्म कम्पनीले उपलब्ध गराउने गर्दछ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख बिमल खड्काले बिमाको महत्त्वबारे जानकारी दिँदै यसले जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको जोखिम बहन गर्नुका साथै अप्ठेरो अवस्थामा उनीहरुलाई राहत दिने बताउनुभयो ।
बिहीबार वडा कार्यालयले लघु जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम गरी नागरिकहरुलाई बीमा सम्बन्धी जानकारीका साथै बीमा गरिदिएको हो । वडाले बीमा गरिदिएपछि नागरिकहरु खुशी भएका छन् । बिपन्न वर्गका जोखिम क्षेत्रमा रहेका नागरिकहरुको बीमा वडा समितिले गरिदिएर गरिखाने वर्गको पक्षमा उभिएको नागरिकहरुले बताएका छन् ।
वडा अध्यक्ष मोहनलाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण वडा सचिव कर्ण बहादुर हमालले गर्नुभएको थियो ।












