लमही, ३ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आवधिक योजना र आयोजना बैंक मार्फत योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाइने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमा सम्वन्धि प्रदेश विकास परिषद्को बैठकलाई शनिबार लमहीमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनाहरुलाई बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनु भएको हो । ‘प्रदेश सरकारले डाटाबेसमा रहेर योजना बनाउछ । यो कामलाई प्राथमिकतामा राखेर अघि बढेका छौं’उहाँले भन्नुभयो,‘तथ्यांक र प्रमाणलाइ आधार मानेर योजना छानिन्छन् । यसकालागि आवधिक योजना र आयोजना बैंकले हामिलाई सहयोग गर्ने छ ।’
प्रदेश सरकारले नयाँ योजना थप्ने भन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको, रणनीतिक रुपमा महत्व बोक्ने, प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पुर्याउने योजनालाई सरकारले प्राथमिकतामा राख्ने भनाई मुख्यमन्त्री आचार्यको छ । ‘हरेक क्षेत्रमा तथ्यांकलाई योजना छनोटको आधार निर्माण गर्छौं । आयोजना बैंक मार्फत काम गर्छाैं । टुक्रे योजनालाइ निरुत्साहित गर्न हामी गम्भीर छौं’ उहाँले भन्नुभयो, ‘आगामी बजेटमा टुक्रे योजना घटाउछौं । यो सन्देश तल सम्म पुर्याउन जरुरी छ । दवावमा होइन तथ्यांक र प्रमाणको आधारमा योजना छान्न जरुरी छ ।’
आवधिक योजनालाई प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित गर्नु अघि प्रदेश विकास परिषद् बैठकमा प्राप्त सुझावहरुलाई समेटिने मुख्यमन्त्री आचार्यले बताउनु भयो । ‘यहाँ प्राप्त महत्वपूर्ण सुझावलाई लिपिबद्द गरेका छौं । योजना विना हामी अगाडि बढ्यौं भने गन्तव्यमा पुग्न सकिदैन । यो सबैको साझा बिषय बनेको छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘सरकारले अघि बढाएको प्राथमिकताको कार्ययोजनामा सबैको साझा ऐक्यवद्धता पाएको छु ।’
प्रदेश सरकार स्थापना भएदेखिको अवधिमा भएको प्रगतीलाई नजरअन्दाज गर्न नहुने बताउनु भएको छ । प्रदेश सरकार स्थापनाभएपछी विकास निर्माणको कामले गति लिएको, गाउँ शहरको मुहार फेरिएको, जनताको आधारभुत आवश्यकताहरु पुरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको स्पष्ट पार्नुभएको छ । ‘सात बर्ष अघिको अवस्था र सात बर्षपछीको अवस्थालाई तुलना गरौं । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, उद्यमशिलता लगायतको अवस्था के थियो ? अहिले के उपलब्धिहरु प्राप्त भएका छन् । तुलना गरेर विश्लेषण गर्न जरुरी छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘प्रदेश सरकारले सम्पादन गरेका कामहरुले सकारात्मक नतिजा र उपलब्धी दिएको छ ।’
बैठकलाई पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी, पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरा लगायतका वक्ताहरुले सम्वोधन गर्दै योजनाबद्ध विकास र प्रदेशका प्राथमिकताका आधारमा आवधिक योजनाले दिशा निर्देश गर्नुपर्नेमा जोड दिएका थिए ।












