घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको व्यवस्थापन थालेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ बजार क्षेत्रमा रहेका छाडा गाईगोरुहरुको उपमहानगरले व्यवस्थापन थालेको हो । केही दिन अघि घोराही बजार क्षेत्रबाट नियन्त्रणमा लिएका ६१ गाईगोरु विभिन्न व्यक्तिहरुको जिम्मा लगाइएको छ ।
जसअन्तर्गत रोल्पामा पाल्नका लागि ४६ वटा, उपमहानगरका कर्मचारीहरुले ४ वटा र ६ वटा सम्बन्धित व्यक्तिले लगेका छन् भने दुई वटा दुहुना गाईलाई कार्यालयमै राखिएको छ ।
रोल्पा त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका कर्णबहादुर विक, चन्द्रबहादुर परियार, गोपाल विक र खगेन्द्र वलीले पाल्नका लागि ४६ वटा गाईगोरु लगेका छन् । उपमहानगरपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी, नागरिक समाज, दाङ जिल्ला उद्योग बाणिज्य संघ तथा पत्रकारहरुको रोहबरमा गाईगोरुको जिम्मा लगाएको हो ।
रोल्पा पठाइएका गाईगोरुलाई किसानहरुले पाल्ने विषयमा त्रिवेणी गाउँपालिकाका अध्यक्षसँग समेत उपमहानगरले समन्वय गरेर गाईगोरु पठाइएको मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो ।

