काठमाडौँ, २८ फाल्गुन । यूएस बङ्लादेश एयरलाइन्सको बिमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश नेपाली रहेको प्रारम्भिक जानकारी आएको छ ।

६७ यात्रु र चालक दलका चारजना सदस्यसहित बंगलादेशको ढाकाबाट काठमाडौं उडान भरेको सो विमान दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन विमानस्थलको धावन मार्गमा दुर्घटनाग्रस्त भएको हो ।

६७ यात्रु मध्ये ३३ जना नेपाली थिए । घाइते २२ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त विमानबाट ३० जनाको उद्धार गरिए पनि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी पुर्‍याएलगत्तै चिकित्सकले पाइलट पृथुला रसिद, चालक दलका सदस्य खवाजा हुसेन सहित ८ जनालाई मृत घोषित गरेका थिए ।

घाइतेमध्ये १२ जनाको केएमसी, ५ जनाको नर्भिक अस्पताल, ३ जनाको ग्रान्डी अस्पताल तथा ओम अस्पताल र मेडिसिटी अस्पतालदमा एक एक जनाको उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो ।

९० डिग्री मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको विमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । सञ्चारकर्मीसँग कु्रा गर्दै विमानस्थल महाप्रबन्धक राजकुमार क्षत्रीले दक्षिणतर्फबाट ल्याण्ड गर्न अनुमति दिए पनि उत्तर तर्फबाट ल्याण्ड गरेकाले दुर्घटनामा परेको बताउनुभयो ।   बिएस २११ ‘कल साइन’ को सो विमान त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली परिचालित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने बताउँदै घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने उल्लेख गर्नुभयो ।

विमान दुर्घटनाग्रस्त भएपछि अवरुद्ध भएको अन्तर्राष्ट्रिय तथा अन्तरिक उडानहरु साँझबाट पुन: सञ्चालन भएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस