घोराही, ६ चैत्र । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङलाई प्रादेशिक राजधानी बनाउने मुद्दा अझै नसकिएको बताएका छन् । दाङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित महरा संघीय सभामुखमा निर्वाचित भएपछि उनको स्वागत सम्मानमा मंगलबार घोराही उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने सम्भावना अझै रहेको बताए ।
राजधानीको मुद्दा अझै सिद्धिएको छैन, मुद्दा सकिएको भन्ने नठान्नुहोला सभामुख महराले भने,– मुख्यमन्त्री शंकर पोख्रेलसँग बसेर छलफल गरिरहेका छौँ, गम्भीर छलफल भइरहेको छ हामीले राजधानीको मुद्दा छोडेका छैनौँ । उनले तत्काल स्थायी राजधानी हुने सम्भावना नभएको उल्लेख गर्दै सरोकारवालाबीच गम्भीर छलफल भइरहेको बताए । स्थायी राजधानीका विषयमा विवाद र बहस दुवै चलिरहेको छ उनले भने,– यो विवाद र बहसले अर्को कुनै निर्णय हुनसक्छ आशा नमार्नुहोला । उनले दाङको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए ।
महराले भूमिकाको हिसाबले साझा भए पनि विकास निर्माणको हिसाबले आफ्नो निर्वाचन क्षेत्र र दाङको समग्र विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए । राजनीतिक हिसाबले म तटस्थ छु, तर विकास निर्माणको हिसाबले मेरो निर्वाचन क्षेत्र र दाङको विकासका लागि म तटस्थ हुन सक्दैन सभामुख महराले भने,– दाङको समग्र विकास, घोराही उपमहानगरपालिका र २ नम्बर क्षेत्रको यथोचित विकासमा प्रतिबद्ध भएर लाग्छु ।
सभामुख महराले चुनावी प्रतिबद्धता आफूले नभुलेको बताए । उनले जेठ १५ मै बजेट आउने भएकाले बैशाख अघि नै ठूला योजना प्रस्ताव गर्न जनप्रतिनिधि, राजनीतिक दलहरुलाई आग्रह समेत गरे । सानातिना उपमहानगरपालिका, मझौला प्रदेशस्तरबाट गर्न सकिने भन्दै उनले ठूला आयोजनाको विषयमा बेलैमा छलफल गरी पठाउन आग्रह गरे ।
दाङको विकास र समृद्धिका विषयमा छिट्टै जिल्लाका वडादेखि केन्द्रसम्मका जनप्रतिनिधि बसेर छलफलको तयारी भइरहेको जानकारी दिँदै महराले आआफनो क्षेत्रबाट सहयोग गर्न आम दाङबासीलाई अनुरोध गरे ।
सभामुख महराले कानुनको अभावमा जनप्रतिनिमूलक संरचनाले काम गर्न समस्या परिरहेको उल्लेख गर्दै संविधानको मर्मअनुसारको कानुन निर्माण गर्नु आफूहरुको मुख्य चुनौति रहेको बताए । उनले स्थानीय सरकार, प्रदेश सरकार सञ्चालन तथा उनीहरुको भूमिकाको विषयमा कानुन नबन्दा समस्या रहेको भन्दै आवस्यक साथ सहयोग र सुझावका लागि आग्रह गरे ।
उनले दाङ क्षेत्र नं. २ बाटै आफूले संघीय संसदको नेतृत्व र शंकर पोख्रेलले प्रदेश नं. पाँचको नेतृत्व गर्ने अवसर प्राप्त गरेको भन्दै नेतृत्वको भरपूर अवसर लिने अवसर पाउनु दाङबासीका लागि सौभाग्य जुरेको बताए । साथै महराले प्रदेश नम्बर ५ का सभामुखको क्षेत्र रुकुम भए पनि घोराही निबासी नै भएकाले यस्तो नेतृत्व पाउनु खुशीको कुरा भएको उल्लेख गरे ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपमहानगर प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई स्वागत सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस