घोराही, ६ चैत । पुरानो गाउँ नाम भने नयाँबस्ती । झण्डै २५ घरधुरीको सुकुम्बासी क्षेत्रमा कहिल्यै विकास पुगेन । जिल्ला सदरमुकामदेखि ४/५ किलोमिटर दुरीमा रहेको नयाँबस्तीमा सडक पुर्‍याउन सधैँ विवाद भयो । २०२८ सलादेखिको जग्गा विवादले तत्कालीन पाँच जना प्रधानपञ्चसमेत सडक खोल्न असफल भए तर जनप्रतिनिधिकै पहलमा ४६ वर्षपछि यसपालि नयाँ बस्तीमा ‘नयाँ सडक’ पुग्यो । मात्रै एकलाखमा डेढ किलोमिटर नयाँ ट्रयाक खोलेपछि घोराही उपमहानगरपालिका वडा नं. २ नयाँबस्तीको मुहार फेरिएको छ । बिरामीसमेत बोकेर अस्पताल लैजानुपर्ने समस्या थियो स्थानीय नमी दमाईले भन्नुभयो,– अहिले त अप्ठेरो पर्दा घरमै अटो ल्याउँछौँ । नियमित बस नचल्ने नयाँबस्तीमा समस्या पर्दा ठूला गाडीसमेत आँगनमै लैजान सकिने भएको छ । वर्षौपछि आँगनमा सडक पुग्दा स्थानीयहरु हर्षित छन् ।
नयाँबस्तीमात्रै होइन वडा कार्यालयले दामोदर रोडअन्तर्गत भट्टेटार–मलुकेसोता तथा बिपीमार्ग मलुकेसोता ट्रयाक खोलेर कल्भर्टसमेत निर्माण गरेपछि स्थानीय पनि दंग छन् । ‘साँझ एक्लै हिँड्न डर लाग्थ्यो, दिउँसोमा साइकल हिँड्न समेत गाह्रो हुन्थ्यो’ अघर्रेकी सीता पोख्रेलले भन्नुभयो,– ‘कल्भर्ट निर्माण र नयाँ सडक खोलेपछि आवतजावतमा सजिलो भएको छ ।’ घोराही उपमहानगरपालिका वडा नं. २ मा ३० वटा टोल छन्, ती सबै टोललाई सडक सञ्जालसँग जोडिएको वडा अध्यक्ष केशवकुमार आचार्यले बताउनुभयो । कुनै पनि विकासको पहिलो आधार सडक हो वडाध्यक्ष आचार्यले भन्नुभयो,– वडाको विकासका लागि यसपाली सबै टोललाई सडकले जोड्ने काम गरेका छौँ ।
रामपुर कृषिको पकेट क्षेत्र पनि हो । किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउन सडकले ठूलो महत्व राख्ने आचार्यको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै वडा नं. २ ले विभिन्न १६ वटा नयाँ ट्रयाक खोलेको छ । जसमा ४३ लाख रुपैयाँ बजेट खर्चिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयकाअनुसार यसवर्ष मात्रै झण्डै ३२ किलोमिटर ७ मिटर चौडा नयाँ ट्रयाक खोलेर वडाका ३० वटै टोललाई सडक सञ्जालमा जोडिएको हो । बिपीमार्ग– बुका– मसानघाट सडक, तल्लो बुका– कमल पोख्रेलको घरसम्मको सडक, बिपीमार्ग सुर्केडाँगी चौकीदेखि बबईखोला सडक, बिपीमार्ग रामपुर बजारदेखि मोतीपुरसम्म, नयाँवस्ती सडक, बबईखोला–बलामपुर सडक, बलामपुर– बाघखोर सडक, सहरेखोला– बाघखोर सडक, अम्रेनीदेखि डाङडुङे– हात्तीखावा सडक, बेलदमारदेखि चाख्लीघाट सडक, बिपीमार्ग मलुकेखोला सडक, निमुरिया स्कुल–गोठुवा हुँदै बालापुर, निमुरिया स्कुल हुँदै बबईखोला, पण्डित चोकदेखि सत्गैँया चोक सडक, गंगा मावि पछाडिको सडक र मोतीपुर पिपलबोटदेखि बलबहादुर केसीको घरसम्मको नयाँ ट्रयाक खोलिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयको सडक निर्माण अभियानमा उपमहानगरपालिकाले पनि साथ दिएको छ । नयाँ सडकको ट्रयाक वडाले खोलेको छ भने अति आवस्यक क्षेत्रमा उपमहानगरपालिकाले ग्राभेल गरिदिएको छ । वडाध्यक्ष आचार्यले पूर्वाधार विकासतर्फ सडकका सबै काम माघमै सकिएको जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस