घोराही, २३ चैत । मुक्त कम्लरीहरुले जमिन्दारहरुले वेपत्ता पारेका कम्लरीको खोजविन गर्न प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेश नम्बर ५ का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेललाई बुधवार घोराहीमा १४ बुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल कम्लरी बालिकाहरुको खोजविन तथा उद्धार गर्न माग गरेका हुन् ।

५ नम्बर प्रदेशलगायत पश्चिम नेपालका ५ जिल्लाबाट ६ जना बालिका अहिले पनि जमिन्दारको घरबाट बेपत्ता पारिएको भन्दै उनीहरुले खोजी गरिदिन प्रदेश सरकारको ध्यानाकर्षण गराएको मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताउनुभयो । देशलाई कम्लहरीमुक्त घोषणा गरिए पनि पूर्णरुपमा कम्लरी प्रथा अन्त्य नभएको भन्दै बालिकाहरुलाई दासी बनाएर राख्नेहरुलाई कडा कारवाहीका लागि माग समेत गरिएको छ ।

अहिले दाङका २, बर्दियाका २ र कैलालीका २ जना बालिकालाई बेपत्ता पारिएको मुक्त कम्लहरी विकास मञ्चले जनाएको छ । मञ्चका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १ सय ५ जना बालिका अहिले पनि कम्लहरीको रुपमा काम गरिरहेका छन् ।

ज्ञापनपत्रमा मुक्तिपछि आयआर्जनमा लाग्न २३ वटा सहकारी स्थापना गरिएकोले अनुदानलगायत सीप, रोजगारको अवसर सिर्जना गर्नुपर्ने उल्लेख गरिएको छ । उनीहरुले मुक्तकम्लरीहरुले स्थापना गरेका कृषि सहकारीलाई रासायनिक मल विक्रिवितरण गर्न अनुमति दिनुपर्ने, सामुहिक खेति, व्यवसाय गर्नेहरुलाई अनुदानको व्यवस्था गर्न पनि माग गरेका छन ।

त्यसैगरी पश्चिम नेपालका पाँच जिल्लामा १३ हजार मुक्तकम्लरी मध्ये दाङका ९६ जना मुक्तकम्लरीलाई मात्रै सरकारी परिचयपत्र दिइएको भन्दै सवैलाई परिचयपत्र अविलम्व वितरण गर्न माग गरिएको छ । दाङमा मात्रै पाँच हजार मुक्तकम्लरी छन । ज्ञापनपत्र बुझ्दै कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले पढ्ने समयमा कम्लरी बस्नुपर्ने बाध्यता सिर्जना गरिएको भन्दै क्षतिपूर्ति स्वरुप राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बेपत्ताको खोजी, कम्लहरीको उद्धार र परिचयपत्रका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस