घोराही, २८ फागुन । प्रकृति विपरितका गतिविधिकै कारण वन्यजन्तु र मानववीच द्वन्द्व सिर्जना भएको भन्दै सरोकारवालाहरुले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तहलाई सजग गराउनुपर्नेमा जोड दिएका छन् ।

हरियो वन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघ दाङले सोमबार घोराहीमा आयोजना गरेको मानव, वन्यजन्तु द्वन्द्व व्यवस्थापनः राहत सहयोग पहुँच, प्रभावकारिता र न्यायोचितता विषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले विकासका नाममा वन्यजन्तुको वासस्थान, चरण क्षेत्र, हिँड्ने बाटो, खाने आहारामा अवरोध सिर्जना हुँदा वन्यजन्तुहरु मानव वस्तीमा आउने र आक्रमण गर्ने क्रम बढेको बताए । पछिल्ला पाँच वर्षमा सबैभन्दा धेरै ३० प्रतिशत आक्रमण हात्तीबाट हुने गरेको पाइएको छ ।

त्यस्तै चितुवा र गैंडाबाट १८÷१८ प्रतिशत, भालुबाट १२ र बाघबाट १० प्रतिशतको हाराहारीमा मान्छेहरुले क्षति ब्यहोर्नुपरेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

एक तथ्याङकअनुसार सोही समयमा देशका विभिन्न भागमा हात्तीको आक्रमणबाट २३, चितुवाबाट १०, बाघबाट ६, गैंडाबाट ४ र भालुबाट २ जनाको मृत्यु भएको छ ।

सरोकारवालाहरुले बढ्दो मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि अब स्थानीय तहले नै योजना निर्माण गर्नुपर्ने बताए ।

सरकारले मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि केन्द्रस्तरबाट खासै प्रभावकारी योजना नल्याएको र बनेको नीति पनि व्यवहारिक नभएको भन्दै उनीहरुले वन्यजन्तुले गर्ने क्षतिको राहतको स्पष्ट मापदण्ड र राहतका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

उनीहरुले राहत कोष स्थापना तथा मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सञ्चारमाध्यमहरुको भूमिका महत्त्वपूर्ण हुने बताए ।

वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले मानव र वन्यजन्तुवीचको द्वन्द्वले पार्ने असरका विषयमा सचेत पार्दै स्थानीय सरकारलाई राहत कोषका लागि दबाब सिर्जना गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको सहजीकरण हरियो वनका सुवास देवकोटाले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार र सामुदायिक वनकर्मीहरुको सहभागिता थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस