घोराही, ९ असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ मा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ । तेस्रो नगरसभामा नीति कार्यक्रम प्रस्तुत गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको हो ।
उपमहानगरपालिकाले कृषि, उद्योग, पर्यटन, व्यापार, वित्त र सहकारीलगायतका समृद्धिका क्षेत्रलाई चलाएमान बनाउन आधारका रुपमा सडक निर्माणलाई प्राथमिकता दिने नीति कार्यक्रममा उल्लेख गरेको छ । घोराही–तुलसीपुर सडकअन्तर्गत पर्ने घोराही उपमहानगरको उत्तर–दक्षिण क्षेत्र जोड्न सबै टोल र वस्तीलाई यातायात सञ्जालले जोड्ने र उपमहानगरको सदरमुकामदेखि सबै वडा केन्द्रलाई जोड्न एक/एकवटा सडक कालोपत्रे गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ । उपमहानगर क्षेत्रका दुर्गम टोल वस्तीलाई बढीमा आधा घण्टाको पैदल हिँडेर यातायात सुविधा भेट्ने गरी सडक निर्माण गर्ने नीति उपमहानगरपालिकाले लिएको छ ।यसैगरी उपमहानगरपालिकाले कृषि, सिंचाई, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका विषयलाई पनि प्राथमिकतामा राखेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । सिंचाई र भविष्यमा हुनसक्ने पानीको समस्या टार्नका लागि कटुवाखोला, गुर्जे खोलामा ड्याम निर्माण गर्ने, डीप बोरिङको व्यवस्था गर्ने, ड्याम तथा साना पोखरी निर्माण, थोपा सिंचाई र स्प्रीङकलर सिंचाई प्रणालीको विकास गर्ने नीति उपमहानगरले लिएको छ ।
यसैगरी स्वास्थ्य बिमा, सबै क्षेत्रभित्र आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विशेषज्ञ सेवाका लागि प्रेषण सेवा सञ्चालन, ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा दिने नीतिलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । सिकलसेल एनिमिया रोकथाम गर्न निःशुल्क ल्याव परीक्षण, सहरी स्वास्थ्य केन्द्रलाई सबै वडामा सञ्चालन गर्ने र जनघनत्वको आधारमा थप केन्द्र सञ्चालन गर्ने उल्लेख गरिएको छ ।यसैगरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुमा कक्षा ८ देखि कम्युटर शिक्षा लागु गर्ने, उपमहानगरकै लगानीमा प्राविधिक महाविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन र मातृभाषामा आधारभूत शिक्षा प्रदान गर्ने कार्यलाई प्रोत्साहन गर्ने नीति लिइने नगर प्रमुख चौधरीले बताउनुभयो । यस्तै घोराही उपमहानगरलाई खेलकूदकै नमूना क्षेत्रको रुपमा विकास गर्न आधुनिक क्रिकेट र फुटबल मैदान निर्माण गर्ने र हरेक वर्ष भलिबल रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने नीति उपहानगरले लिएको छ ।
नगरक्षेत्रमा लैंगिक हिंसा प्रभावितहरुका लागि समुदायमा आधारित संरक्षण कार्यक्रम, अल्पकालीन आश्रय गृह निर्माण, दिवा सेवा सञ्चालन, एक वडा एक बालउद्यान केन्द्र बनाउने नीतिलाई प्राथमिकतामा राखिएको नीति कार्यक्रममा उल्लेख गरिएको छ । न्यायमा पहुँच नभएका पीडित, असहायहरुलाई निःशुल्क कानुनी सेवा, कृषि उत्पादनलाई व्यवसायीकरण, आधुनिकीकरण गरी उत्पादकत्व बढाउने, युवाहरुलाई तरकारी खेती, मौरीपालन, मत्स्यपालन, च्याउ उत्पादन, पुष्प व्यवसाय, कृषि औजारका लागि अनुदानको व्यवस्था, असन्तुलित र अनियन्त्रित विषादी प्रयोग गरिएका उपभोग्य वस्तुको नियन्त्रण र जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गर्ने उपमहानगरले जनाएको छ ।
यसैगरी कृषिमा गह्रा सुधार कार्यक्रम, एक वडा एक उत्पादनको नीति अंगिकार गर्ने नगरप्रमुख चौधरीले उल्लेख गर्नुभयो । घोराही उपमहानगरलाई दूध, अण्डा, मासुमा आत्मनिर्भर बनाउने, घोराही उपमहानगरपालिकाभित्रै औद्योगिक क्षेत्र निर्माण गर्ने र नगरस्तरीय औद्यागिक प्रदर्शनी आयोजना गर्ने, उपमहानगरक्षेत्रका पर्यटकीय क्षेत्रको अभिलेख तयार गर्ने, घोराहीको पहिचानका लागि घोडाको प्रतिमा राख्ने र स्थानीय भाषा, संस्कृति, लिपी, लोकगाथा झल्किने सङ्ग्रहालय स्थापना गर्ने नीति लिइने नीति कार्यक्रममा उल्लेख छ ।
नारायणपुरमा क्षेत्रीयस्तरको एयरपोर्ट छिटो निर्माणका लागि आधार तयार गर्ने, सहकारी क्षेत्रको क्षमता विकास, प्लाष्टिकको उत्पादन र प्रयोगलाई निरुत्साहित गर्ने, हरेक घर सुन्दर घर अभियान सञ्चालन, फोहरलाई मोहरमा बदल्न निजी क्षेत्रसँग सहकार्य, बिपद् व्यवस्थापन कोष सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।
त्यसैगरी उपमहानगरबाट प्रवाह गरिने सेवालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै कर्मचारीबाट हाँसी हाँसी काम र सोधी सोधी सेवा गर्ने शैली अबलम्बन गर्ने, सुरक्षा जोखिम भएका सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, व्यक्तिगत घटनालाई अनलाइन प्रणालीमा लैजाने, उत्कृष्ट करदाताहरुलाई सम्मान गर्ने र नगरक्षेत्रभित्र सिटीबस सञ्चालनलगायतका नीति कार्यक्रम प्रस्तुत गरिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस