घोराही, ६ जेठ । दाङमा वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि मेसिन आइपुगेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को रामपुरमा स्थापना गर्नेगरी वातावरण मन्त्रालय वातावरण विभागसँग भएको सम्झौताअनुसार मेसिन आइपुगेको हो ।
घोराही उपमहानगरपालिकाको वडा नम्बर २ रामपुरमा उक्त वायु गुणस्तर मापक केन्द्र स्थापना गर्ने गरी उपमहानगरका मेयर नरुलाल चौधरी र विभागका सिनियर डिभिजनलर केमिस्ट शंकरप्रसाद पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
घोराही सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवाँसहित घोराही बजारको समेत वायु प्रदूषणको मापन गर्ने क्षमतासहितको करिब १ करोड २५ लाख रुपैयाँको उक्त वायु गुणस्तर मापन मेसिन आज रामपुरमा ल्याइएको छ ।
सिमेन्ट उद्योगसहित अन्य उद्योगहरुबाट निस्कने धुलो र धुवाँको मात्रा पत्ता लगाएर त्यसलाई न्यूनिकरण गर्ने उद्देश्य लिइएको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । उद्योगबाट निस्कने धुलो, धुवाँ, फोहोर जलाएर निस्कने धुवाँ र पुराना गाडीबाट निस्कने धुवाँ सबै छुट्याउने र त्यसपछि न्यूनिकरण गर्नका लागि काम थालिने विभागका वातावरण निरीक्षक निर्मल चौधरीले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ हावाको बहाव बहने भएका कारण घोराही सिमेन्ट उद्योगको पूर्वीभाग रामपुर बजारको रामपुर प्रहरी चौकीको हाताभित्र उक्त राखिने मेसिनलाई घोराही वायु गुणस्तर मापन केन्द्र नाम दिइएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस