दाङ, २६ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीले विजया दशमी, शुभदीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा दशै मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
प्याब्सन घोराहीले दशै मिलन कार्यक्रम दाङको पर्यटकीय क्षेत्र गढवा गाउँपालिका १ कुलपानीमा गरेको हो । स्थानीय पर्यटनको प्रवर्धन, आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रचार, प्राकृतिक मनोरम स्थलबाट प्रिन्सिपलहरुलाई पुनर्ताजगी गर्ने तथा शुभकामनामार्फत आपसी सम्बन्ध सुमधुर राख्ने उद्देश्यले उक्त स्थानमा दशै मिलन कार्यक्रम आयोजना गरिएको थियो ।
प्याब्सन घोराहीमा आबद्ध निजी विद्यालयका प्रिन्सिपलका लागि आयोजित दशै मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले चाँडपर्वले नेपालीहरुमा आत्मीयता बढाउने र आपसी मेलमिलापलाई थप सुदृढ बनाउने बताएका थिए । उनीहरुले बाढीका कारण देश शोकमा डुबेको भन्दै बाढीपिडित र सरकारलाई सहयोग गर्न निजी विद्यालयहरु अग्रसर नै रहेको बताएका थिए । शोकलाई शक्तिमा बदली अगाडी बढ्न हरेक नेपाली दृढ हुनुपर्ने बताएका थिए । उनीहरुले विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका प्रिन्सिपललाई प्राकृतिक सौन्दर्यको स्थलमा दशै मिलनको आयोजना गरेर प्याब्सन घोराहीले मानसिक तनाबलाई कम गर्न महत्वपूर्ण कार्य गरेको उल्लेख गरेका थिए ।
प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम् प्याब्सन केन्द्रिय कार्यसमितिका सदस्य महेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य रेशम बहादुर बुढा, प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार केशब थापा, जिल्ला अध्यक्ष निर्मल न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी प्याब्सन घोराही नगर कमिटीका प्रमुख सल्लाहकार विरेन्द्र चन्द, प्याब्सन गढवाका अध्यक्ष विकास रजौरे, प्याब्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्याब्सन घोराही नगर कमिटीका सदस्य हरि डिसी, नगर सदस्य एवम् दाङ विद्या सदनका प्रिन्सिपल डिल्लीराज शर्मा र हिन्दु विद्यापिठका प्रिन्सिपल पिताम्बर रिजालले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी प्रिन्सिपलहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्याब्सन घोराहीका उपाध्यक्ष मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियो ।












