दाङ, १४ जेठ । घोराही-मुर्कुटी सडकखण्डमा उत्पन्न धुलो नियन्त्रणका विषयमा आज बंगलाचुली गाउँपालिकामा सर्वपक्षीय छलफल भएको छ । घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ओसार्न चल्ने टिप्परले यस सडकखण्डमा अत्यधिक धुलो उत्पन्न गरेको भन्दै बंगलाचुली गाउँपालिकाले यसको समाधानका लागि सर्वपक्षीय छलफलको आयोजना गरेको थियो ।
छलफलले घोराही सिमेन्ट उद्योगको कच्चापदार्थ ओसार पसारका क्रममा उत्पन्न धुलो प्रदूषण नियन्त्रणका लागि घोराही-तापा सडकमा तत्काल लोडर ग्रेडर प्रयोग गरी ग्राभेल गर्ने, धुलो प्रभावित वस्तीहरुमा पानी चार्ने काम यथावत राख्ने निणर्य गरेको छ ।यसैबीच छलफलले उद्योग स्थापनाका क्रममा प्रभावित क्षेत्रका स्थानीय र उद्योगबीच भएका सहमतिहरु अक्षरसः कार्यान्वयनका लागि बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, ४ का अध्यक्ष नारायण डाँगी, घोराही उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष राममणि पाण्डे, ४ का अध्यक्ष भीमबहादुर सार्की, घोराही सिमेन्ट उद्योगका प्रतिनिधि, टिप्पर व्यवसायी समितिका तर्फबाट बसन्त अधिकारी, धुलो प्रभावितका तर्फबाट टेकबहादुुर थापा र सदस्य सचिवमा पत्रकार एवं बंगलाचुली गाउँपालिकाका प्रेस संयोजक जीवन नेपाली रहनुभएको छ ।
सो छलफलमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली, घोराही उपमहानगरपालिकाका मयेर नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी प्रमुख एसपी दुर्गा सिंह, बंगलाचुली गाउँपालिकाका वडा अध्यक्षयहरु, घोराही सिमेन्ट उद्योगका प्रतिनिधि अमर सुवेदी, टिप्पर व्यवसायी समितिका प्रतिनिधि, धुलो प्रभावित स्थानीयको सहभागिता रहेको थियो ।
धुलो प्रभावित क्षेत्रका स्थानीयहरुले धुलोका कारण आफूहरुको स्वाथ्यमा गम्भीर असर पर्ने भन्दै यसको समाधानका लागि विभिन्न चरणमा आन्दोलन हुँदै आएको थियो । जसको दीर्घकालीन समाधनका लागि आज छलफल भएको हो ।
कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस