घोराही, २९ असार । जडिबुटीहरुको उत्पादनशील क्षेत्र मानिने बंगलाचुली गाउपालिका–४ जुम्लेपानीलाई जडिवुटीको हब बनाउन सुरु गरिएको छ । प्राकृतिक रुपमै बहुमूल्य जडिवुटी क्षेत्र जुम्लेपानीमा हावापानी मिल्दो जडिवुटि प्रवर्द्धन  गर्न जिल्ला वन कार्यालयले गत वर्षदेखि नै जडिवुटीका विरुवा वितरण र विरुवाको प्रवर्द्धनका लागि आर्थिक सहयोग समेत गर्दै आएको जिल्ला वन अधिकृत जगदिशप्रसाद यादवले जानकारी दिनुभयो ।
जडिवुटी उत्पादनका लागि वातावरणको हिसाबले जुम्लेपानी जिल्लाकै उत्कृष्ट क्षेत्र हो, वन अधिकृत यादवले भन्नुभयो,– “यहाँ प्राकृतिक रुपमा जडिबुटी पनि पाइन्छन् त्यसैले यसलाई जडिबुटिकै हब बनाउन सरकारले जुडिबुटी प्रवर्द्धनका काम पनि सुरु गरेको छ ।” कार्यालयका अनुसार अघिल्लो वर्ष जुम्लेपानीमा २५ किसानलाई मालागेडी र दालचिनीका बिरुवा वितरण गरिएको थियो ।
ओखर, टिमुर, दालचिनी, रुख कमल, सुनाखरीलगायतका जडिबुटी पाइने उक्त क्षेत्रमा जिल्ला वनले किसानहरुलाई व्यावसायिक रुपमै खेती गर्न प्रोत्साहनका कार्यक्रम ल्याएको वन कार्यालयले जनाएको छ । यसपालि जिल्ला वनले जुम्लेपानीका ५ जना किसानहरुलाई ७ हजार बोट टिमुर र ३ हजार बोट दालचिनीका बिरुवा वितरण गरेको छ । किसानहरुलाई बिरुवा प्रवर्द्धनका लागि कार्यालयले न्यूनतम ४८ हजारदेखि ९८ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।
“विगत १५ वर्षदेखि नै म जडिबुटी खेतीमा लागेको हुँ, अहिले पनि म खेतिमै छु” बंगलाचुली गाउँपालिका ४ जुम्लेपानीका जडिबुटी किसान लक्ष्मणसिंह थापाले भन्नुभयो “टिमुर, दालचिनीका बिरुवा निःशुल्क पाएपछि थप हौसला मिलेको छ ।” यसपालि थापा परिवारले ४ हजार ८ सय टिमुरका र ३ हजार दालचिनीका बिरुवा निःशुल्क पाउनुभएको थियो ।
त्यस्तै जुम्लेपानीकै चुडामणि नेपालीले ११ सय र दिलबहादुर नेपालीले ११ सय टिमुरका बिरुवा रोप्नुभएको छ । “केही भर्खरै लगाएका छौँ, केहीले उत्पादन दिन थालेका छन्” थापाले भन्नुभयो “वर्षमा एकलाख ५० हजार आम्दानी भइरहेको छ ।”
किसानहरुलाई व्यवसायिक खेतितर्फ उन्मुख गराउन जिल्ला वनले यसवर्ष जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको समेत स्थापना गरिदिएको छ । ५ लाखको लागतमा प्रशोधन घर र एकचरणको जडिबुटि प्रशोधन गर्न ग्रिण्डर मेसिन खरिद गरिएको छ । किसान थापाले अबदेखि गाउँबाटै बेसार, घोरटाप्रे, टिमुर, सिस्नो, अमला, हर्रो, बर्रो, दालचिनी र तितेपातीको प्रशोधन गरी बिक्रि गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
पाइलटिङको अनुगमन
यसैबीच जडिबुटट्ठ उत्पादन, प्रशोधन केन्द्रको जिल्ला वन क्षेत्र समन्वय समितिले शुक्रबार अनुगमन गरेको छ । समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशव आचार्य, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीलगायतको टोलीले जुम्लेपानीमा किसानहरुलाई भेटेर खेतीको विकास र सम्भावनाका विषयमा जानकारी लिएको थियो । टोलीले घोराही उपमनपा– १८ अम्बापुरमा रहेको जिल्ला नर्सरीको पनि अनुगमन गरेको थियो ।
सो अवसरमा जिल्ला वन कार्यालयका अधिकृत देवीप्रसाद चौधरीले जडिबुटी प्रवर्द्धनका लागि घोराही उपमहानगरपालिकाको वडा नं. ४ को काउलेमा पनि टिमुर खेती प्रवर्द्धन  कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । यसैगरी खेती प्रवर्द्धनकै लागि जिल्ला वन कार्यालयलगायत विभिन्न साझेदार संस्थाहरुको सहयोग, समन्वय र जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा टिमुरका नर्सरी उत्पादन समेत थालिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस