घोराही, २६ फागुन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा कित्ताकाट गर्दा ८ मिटर मोहडा र ८ धुरको क्षेत्रफल कामय हुने गरी घडेरीको मापदण्ड निर्धारण गरेको छ । नगर कार्यपालिकाको ४९ औँ बैठकले १७ हातभन्दा तलका घडेरी कित्ताकाट नहुने गरी मापदण्ड निर्धारण गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कुनै मापदण्ड बिनै घडेरीहरु निर्माण भैरहेको अबस्थामा उपमहानगरले घडेरीको कित्ताकाटमा मापदण्ड निर्धारण गरेको हो । तर, यस भन्दा पहिले कित्ताकाट भै कायम भएका घडेरीहरुका लागि यो व्यवस्था लागू हुने छैन ।

बैठकले घोराही उपमहानगरपालिका क्षेत्रमा चक्रपथ निर्माण योजना कार्यान्वयनको लागि वडा नम्बर ११ को गणेशपुरदेखि मज्गै हुँदै वडा नम्बर ९ को बुकालीडाँडा, एकलघरुवा, कर्मटीया, मछाई, आन्द्रभरैया, वडा नम्बर ५ को धर्ना, दामोदर रोड, धारापानी, वडा नम्बर ३ को कुहिरेपानी, वडा नम्बर २ को बलामपुरबाट नदिपारी हुँदै वडा नम्बर १ सिमलतारा, विपि मार्ग, वडा नम्बर ४ को लक्ष्मीपुर चोकलाई जोड्ने निर्णय गरेको छ ।

त्यसैगरी वडा नम्बर ४ को स्यालापानी, बसन्तपुर, चुक्ले पाटा–वडा नम्बर १७ पालुथान, मदनभण्डारी मार्ग, डवरीहुँदै वडा नम्बर १८ को अम्बापुर, बाँसपोखरी, मसिना, गिठेपानी, रानीजरुवा, वडा नम्बर १३ बाह्रकुने हुँदै वडा नम्बर १२ आँखा अस्पताल रोड हुँदै गणेशपुर छुने गरी चक्रपथ निर्माण गर्ने गरी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ ।

साथै बैठकले ५ नम्बर प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको एकीकृत नमूना बस्ति बिकास कार्यक्रम उपमहानगरपालिकाको वडा नम्बर १७ को क्वार्डि पर्चुखामा गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस