घोराही, ८ चैत । घोराही उपमहानगरपालिका १५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माद्यामिक विद्यालयले झण्डै एक करोड रुपैयाँको लागतमा भवन बनाउन थालेको छ ।

नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विद्यालयकारुपमा छनोट गर्दै प्रदान गरेको १ करोड ९४ लाख रुपैयाँ मध्य ९९ लाख ९९ हजार रुपैयाँको लागतमा ८ कोठाको दुईतले भवन निर्माण हुन थालेको हो ।

भवनको आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिलान्यास गर्नुभएको छ । सरकारले छनोट गरेको नमूना विद्यालयका लागि प्राप्त उक्त रकम मध्य ६५ प्रतिशत भौतिक निर्माण, २५ प्रतिशत शैक्षिक उन्नति र १० प्रतिशत व्यवस्थापकीय क्षेत्रमा खर्च गरिने विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले जानकारी दिनुभयो ।

भवनको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले भवन बलियो र निर्धारित समयमै बनाइसक्न आग्रह गर्नुभएको छ । विद्यालयले निर्माण समिति गठन गरेर चालु आर्थिक वर्षमै निर्माण सक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र घर्तीले जानकारी दिनुभयो ।

यसैबीच घोराही उपमहानगरपालिकाले पद्मोदय विद्यालयको संरक्षण तथा विकासका लागि ६९ करोडको गुरुयोजना समेत तयार पारेको छ । पद्मोदयमा अहिले मन्टेश्वरी देखी कक्षा १२ सँगै विभिन्न प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ भने साढे ५ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस