तिर्थराज ज्ञवाली

देवीकोट (देउखुरी), ८ चैत । राप्ती गाउँपालिकाको विकट बस्ती देवीकोटमा सञ्चालित नागरिकता शिविरबाट १ सय बढीले नागरिकता लिएका छन् । राप्ती गाउँपालिका, जिल्ला प्रशासन कार्यालय दाङ तथा ईलाका प्रशासन कार्यालय लमहीको आयोजनामा शुक्रवार नागरिकता शिविरको आयोजना गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकको सेवा सुविधाका सम्बन्धमा राप्ती गाउँपालिका लागिरहेको र पहाडी क्षेत्रका नागरिकहरुलाई छिटो छरितो सेवा प्रवाहका लागि सरोकारवालाहरुसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउनुभयो । नागरिकको सहजताको लागि हरेक पालिकाका विकट बस्तीहरुमा नागरिकता शिविरको आयोजना गरिँदै आएको ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, ईलाका प्रशासन कार्यालयका प्रमुख प्रेमबहादुर खवास, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो ।

राप्तीको वडा नं. ९ सम्पूर्ण तवरले पहाडी क्षेत्र र वडा नं. ५ का धेरै क्षेत्र पहाडी रहेकोमा दुबै वडाबासीलाई पायक पर्नेगरी शिविर आयोजना गरिएको वडा नं. ९ का वडा अध्यक्ष रिमबहादुर सुनारीले जानकारी दिनुभयो ।

शिविरबाट नागरिकता वितरण, जन्मदर्ता, विवाह दर्ता, बसाइसराई, फोटोसहित नामावली, सर्जिमिन मुचुल्कालगायतका सिफरिस समेत गरिएको वडा नं. ५ का वडा अध्यक्ष गोवद्र्धन रावतले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस