सल्यान, २४ जेठ । सल्यानको दार्मा गाउँपालिकाको फारुला–मौलाहाले सडकको निर्माण कार्य सम्पन्न भएको छ । बिहीबार गाउँपालिकाले बाटो निर्माण सम्पन्न भएसँगै सार्वजनिक सुनुवाई गरेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ को बजेट अन्तर्गत विनियोजित १ करोडमध्ये २९ लाख ९९ हजार २ सय ६५ रुपैयाँमा जेनिस निर्माण सेवाले सडक निर्माणको ठेक्का कबोल गरेको थियो । सार्वजनिक सुनुवाईमा बोल्दै दार्मा गाउँपालिकाका इन्जिनियर सन्दिप घिमिरेले सो सडकखण्डको ८ किलोमिटर सडक औसत ७.४ मिटर चौडा निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । १ करोडको आयोजना झण्डै ३० लाखमै सम्पन्न भएपछि कन्टेन्जेन्सी कटाएर बचेको ६५ लाखमध्ये ४६ लाखको लागतमा फारुला मौलाहाले सडकखण्डको खालीखोला सडकखण्डअन्तर्गत १ हजार २ सय मिटर कडा चट्टान फोडी सडक निर्माण गरिएको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो ।सडक निर्माण गरी बचेको रकमबाट मालिका पर्यटकीय क्षेत्र एवं फारुलादेखि मौलाहालेसम्मको सडक दुईलेन कालोपत्रेका लागि डिपिआर गरिएको गाउँपालिकाले जनाएको छ । डिपिआर गरी ती योजनालाई कार्यान्वयन गर्न प्रदेश एवं संघीय सरकारसँग बजेट माग गरिने गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जनाउनुभयो ।

लुम्बिनीदेखि रारा जोड्ने सबैभन्दा छोटो मार्ग समेत मौलाहाले हुँदै जाने अध्यक्ष केसीले बताउनुभयो । थारमारेलाई जिरो प्याइन्ट मानेर रारा–लुम्बिनी राष्ट्रिय गौरवको आयोजना सञ्चालन हुन लागेको उहाँले जानकारी दिनुभयो । सो सडक थारमारेबाट मौलाहाले हुँदै आउने र आ.व. २०७६/७७ को बजेटमा स्वीकृत भइसकेको हुँदा छिट्टै कार्यान्वयनमा जाने उहाँले बताउनुभयो ।दार्मा गाउँपालिकाका सबै वडाहरुलाई सडक सञ्जालले जोड्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै अध्यक्ष केसीले सडक निर्माणसँगै अब फारुला हुँदै थारमारे नियमित यातायात सञ्चालन हुने भएकाले दुर्गममा रहेका जनताले धेरै राहत पाएको धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले सडक निर्माण सम्पन्न भए पनि यसको सही सदुपयोग हुनुपर्ने बताउनुभयो । स्थानीय जनताले वर्षायाममा सडक कटान हुन नदिन सचेतता अपनाउनुपर्ने उहाँले बताउनुभयो । सार्वजनिक सम्पत्तिमा जनताले अपनत्व महसुस नहुँदासम्म त्यसको उचित संरक्षण हुन नसक्ने बताउँदै उहाँले विकासलाई दिगो र प्रभावकारी बनाउन जनताको सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो ।

सडक निर्माण भएसँगै वर्षायाममा अबरुद्ध हुने सडक अब नियमित सञ्चालन हुने भएको छ । सो सडकखण्डमा यसअघि झण्डै ३ सय ५० मिटर दुरी खोलैखोला पार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।कार्यक्रममा बोल्दै मौलाहाले बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बोहराले सडक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अब यहाँको कृषिलाई बजारसँग जोड्न सके स्थानीयको आयस्रोत बृद्धि गर्ने सकिने धारणा राख्नुभयो । साथै बजारको फोहर व्यवस्थापनमा ध्यान दिन समेत गाउँपालिकालाई आग्रह गर्नुभयो ।

सो अवसरमा स्थानीय असवीर बुढाथोकी, कर्णबहादुर बोहरालगायतले स्थानीय कृषि उपजको बजारसम्म पहुँच नभएको भन्दै हाटबजारको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । फलफूल, तरकारी लगायत स्थानीय कृषि उपजले बजार पाउन नसकेको भन्दै उहाँहरुले गाउँपालिकाले बजारसम्मको पहुँचका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राख्नुभयो । सार्वजनिक सुनुवाईको सञ्चालन वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर रावतले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस