तुलसीपुर, २८ भदौ । पार्टी कामको सिलसिलामा तुलसीपुर आउनुभएको पूर्व प्रधानमन्त्री शेरवहादुर देउवासँग नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न स्थानीय मुद्दाका विषयमा भेटघाट गर्नुभएको छ । भेटघाटमा पाण्डेले तुलसीपुर विमानस्थल विस्तारका लागि पहल गर्न पूर्व प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको थियो ।

पहाडी क्षेत्रको केन्द्रका रुपमा रहेको यस विमानस्थलको विस्तार अहिलेको आवश्यकता भएको समेत उहाँले बताउनुभयो । “नगरपालिकाकै समन्वयमा दैनिक दुईवटा साना जहाज चलिरहेका छन् तर त्यसले मात्रै भार थेग्न सक्दैन ” नगरप्रमुख पाण्डेले भन्नुभयो । उहाँले धावनमार्ग विस्तारका लागि प्रशस्त ठाउँ रहेको भन्दै राजनीतिक सहमतिका आधारमा सबैको चासो रहेको विमानस्थल विस्तार गर्न ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले चीनको तिब्बतसम्म जोड्नका लागि अमिलिया सल्यान सडकलाई विस्तार गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

दाङबाट प्रादेशिक राजधानी बुटवल लगेको भन्दै दङाली जनतामा देउवाप्रति आक्रोश रहेको भन्दै त्यसलाई मेट्नका लागि स्थायी राजधानी दाङ आउने गरी पहल गर्न समेत नगरप्रमुख पाण्डेले आग्रह गर्नुभयो । नगरप्रमुखका कुरा सुनिसकेपछि देउवाले विमानस्थल विस्तारका लागि पार्टी सकारात्मक रहेको भन्दै सम्वन्धित निकायमा पहल गर्ने बताउनुभयो । प्रदेशको स्थायी राजधानी घोषणाको कुरा अब काँग्रेसको हातमा नरहेको पनि उहाँको भनाइ थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस