घोराही, २ फागुन । नेपालका प्रथम सहिद लखन थापामगर कप रनिङ फुटबल प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ । घोराही भरतपुर मैदानमा एक कार्यक्रमकाबीच पाँच नम्वर प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीमगरले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै घर्तीले सहिदहरुकै रगत पसिनाले देशले समृद्धि हासिल गर्न लागेको बताउनुभएको छ । नेपालका प्रथम सहिद लखन थापामगरको १४२ औं स्मृति दिवसका अवसरमा आयोजित प्रतियोगिता उद्घाटन गर्दै सभामुख घर्तीमगरले सहिदको रगत पसिनाले देशमा समृद्धिको आधार तयार भएको बताउनुभएको हो ।

अहिले संविधानको कार्यान्वयनको चरणमा रहेको र थुप्रै कानुन निर्माण गर्नुपर्ने बेला भन्दै उहाँले उपलव्धि रक्षा गर्न कानुन बनाउने र जनअपेक्षा पूरा गर्न विकासका कार्यक्रम संगसंगै लैजानुपर्ने बताउनुभयो । उहाँले प्रदेससभा स्थापना भएको फागुन ३ गते एक वर्ष हुने भन्दै वर्षदिनमा १६ कानुन निर्माण गरिएको र त्यत्तिकै मात्रामा विधेयक दर्ता भएको जानकारी गराउनुभयो । उहाँले लखन थापा कुनै अमुख समुदायको मात्र नभई राष्ट्रकै सहिद भन्दै प्रथम शहिद थापाको सम्मानमा स्थानीय सरकारले नै कार्यक्रम गर्न सुझाव दिनुभएको थियो । साथै मगर समुदायलाई पनि समाज विज्ञानको गतिअनुसार बदलिन सुझाव दिँदै लखनका सपना पूरा गर्ने हो भने आफूलाई बदलेर देश निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लखन थापाजस्ता सहिदहरुले देशलाई यहाँसम्म ल्याइपुर्‍याए पनि उहाँको सपना पूरा गर्न सबै रोजगारमुखी बन्नुपर्नेमा जोड दिनुभयो । आफू समृद्ध बनौं, जनता समृद्ध भए देश समृद्ध हुन्छ प्रमुख चौधरीले भन्नुभयो,– तर समृद्धिका लागि केही न केही पेशा गरौं, रोजगारमुखी बनौं । उहाँले लखन थापा कप सञ्चालनका लागि आवस्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । सो अवसरमा बोल्दै वक्ताहरुले सरकारले लखन थापालाई नेपालको प्रथम सहिद घोषणा गरे पनि उचित सम्मान दिन नसकेकोमा दुखेसो पोखेका थिए । अरु केही नगरे पनि सहिदहरुको पंक्तिमा लखन थापाको फोटो राख्न पनि सरकारले कञ्जुस्याँइ गरेकोमा उनीहरुले गुनासो गरेका हुन् ।

नेपाल मगर संघ जिल्ला समन्वय परिषदका अध्यक्ष खलुप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खेल राष्ट्रका लागि र स्वाथ्यका लागि भन्दै लखन कपलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा नेपाल मगर संघकी केन्द्रीय सदस्य सावित्रा राना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कार्यदल सदस्य सुवास पुन, नेपाली काँग्रेस दाङका उपसभापति कमानसिंह भारती, जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, नेपाल मगर संघका पूर्व अध्यक्ष भोपलाल रोकामगर, सल्लाहकार दयाजी रोकामगरले बोल्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष डिल्ली घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मुक्त बुढामगरले गर्नुभएको थियो ।हापुरको विजय सुरुवात
प्रथम सहिद लखन थापामगरकप रनिङ फुटवल प्रतियोगितामा हापुर युथ क्लवले विजय सुरुवात गरेको छ । भरतपुर मैदानमा बिहीवार भएको उद्घाटन खेलमा बबई मगर एकता क्लवलाई २–१ गोल अन्तरले हराएको हो । पहिलो हाफमै दुई गोल गरी अग्रता लिएको हापुर युथले दोस्रो हाफमा उल्टै एक गोल खायो । तर थप गोल गर्न दुबै टिमले नसकेपछि २–१ ले हापुर युथ विजयी भयो । दोस्रो दिन एसएसएफए जुनियर र पद्मोदय पव्लिक नमूना माविबीच खेल हुनेछ । फागुन १५ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका दशवटै पालिकाबाट २३ समूहले सहभागिता जनाएका छन् । प्रथम हुने समूहले कपसहित एक लाख, एघार हजार एकसय ११ र दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैया पाउनेछन । प्रतियोगिताका मुख्य प्रायोजक समाजसेवी गणेशप्रसाद रोकामगरलाई सम्मान गरिएको थियो । उहाँले प्रतियोगिताका लागि दुई लाख नगद प्रदान गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस