सल्यान, १७ पुस । दार्मा गाउँपालिका सल्यानको केन्द्र फारुलाचौर जोड्ने दार्मा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष निमबहादुर केसीसहितको जनप्रतिनिधिको टोलीले पुलको शिलान्यास गरेको हो ।

पुलको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिकामा बाह्रै महिना यातायात सुचारु गर्ने उद्देश्यका साथ पुललाई प्राथमिकतामा राखिएको बताउनुभयो । वर्षाको समयमा सधैँ बाटो अबरुद्ध हुने समस्याको अन्त्य अर्को वर्ष नआउने उहाँले बताउनुभयो । गाउँपालिकाले सडकलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै उहाँले २ वर्षभित्रमा गाउँपालिकाका बस्तीहरुमा सडक पुर्‍याउने लक्ष्यका साथ अघि बढेको जानकारी दिनुभयो ।रारेचौर–फारुलाचौर सडकखण्डको दार्माखोलामा निर्माण हुने उक्त पुल प्रदेश सरकारको १ करोड ८७ लाख २ हजार ८ सय ८२ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । लक्ष्मण जे.भी. भरतपुर चितवन निर्माण कम्पनीले २०७७ असार २० गतेभित्र काम सम्पन्न गर्नेगरी काम सुरु गरेको छ ।

पुलको चौडाइ ७.२ मिटर र लम्बाइ २५ मिटर रहेको गाउँपालिकाका प्राविधिक प्रकाश खड्काले जानकारी दिनुभयो । जसमा पुलको दुवैतर्फ पैदल यात्रीका लागि ६०/६० सेन्टिमिटर छुट्याइएको उहाँले जानकारी दिनुभयो ।
पुल निर्माणका लागि स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी), स्थानीय सडक पुल सहयोग इकाई (एलआरबिएसयू) मानभवन ललितपुर नेपाल तथा स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोग रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस