दार्मा, २४ माघ । दार्मा गाउँपालिका सल्यानको मालिका सामुदायिक वनमा १२ सय दाँते ओखरका बिरुवा रोपिएको छ । सामुदायिक वनको २० हेक्टर क्षेत्रफलमा बिरुवा रोपिएको दार्मा गाउँपालिकाका प्राविधिक सहायक नेत्रलाल घर्तीले बताउनुभयो ।

सामुदायिक वनका पदाधिकारीहरुलाई २ दिने वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी तालिम दिई बिरुवाहरु रोपिएको हो । कुमाख–दार्मा सब डिभिजन वन कार्यालय कमलपोखरीका देवकुमार ओली, जनक पुनमगरले वन व्यवस्थापन तथा गाउँपालिकाकाका कृषि विकास शाखा प्रमुख नेत्रलाल घर्तीले ओखर खेती प्रविधिसम्बन्धी तालिम दिनुभएको थियो ।

गाउँपालिकाको २ लाख पचास हजार अनुदान तथा सामुदायिक वनको ८० हजार रुपैयाँबाट ओखरका बिजु बिरुवा खरिद गरी सामुदायिक वन क्षेत्रमा रोपिएको हो । कृषकहरुलाई व्यावसायिक बनाउने उद्देश्यका साथ सामुदायिक वनमा ओखर रोपिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । दार्मा गाउँपालिकाका ढाकाडामको माथिल्लो भाग जलेखर्क क्षेत्र, चिप्ले, मालिका, स्यालागाउँ ओखरका लागि उपयुक्त क्षेत्र भएको भन्दै उहाँले व्यावसायिक रुपमा ओखर खेती गर्ने लक्ष्य गाउँपालिकाले लिएको बताउनुभयो ।ओखर खेतीका लागि १ हजार २ सय देखि २ हजार ५ सयको उचाई उपयुक्त मानिन्छ । चैत्रमा फूल फुलेर भदौदेखि असोज महिनासम्म ओखर पाक्दछ । रोग, किराको समस्या नहुने तथा भण्डारण र बजारीकरणमा समस्या नहुने हुँदा ओखर खेतीबाट कृषकहरुको आयआर्जन बृद्धिमा टेवा पुग्ने कृषि विकास शाखा प्रमुख नेत्रलाल घर्ती बताउनुहुन्छ । थोरै मात्रामा मल तथा उपयोग नभएको बाँझो जग्गामा पनि ओखर खेती गर्न सकिने उहाँ बताउनुहुन्छ ।

कति वर्षमा तयार हुन्छ ओखर ?

ओखरको बिजु बिरुवा रोपेको ८ देखि १० वर्षबाट फल दिन सुरु गर्छ । ओखरले १५ देखि २० वर्षबाट पूर्ण रुपमा फल दिन थाल्ने शाखा प्रमुख घर्तीले बताउनुभयो । ओखरले १०० बर्षभन्दा बढी उत्पादन दिने गर्दछ । औसतमा १ बोटबाट २ हजार ५ सय दाना वा ५० केजीसम्मको उत्पादन हुने गर्दछ । ओखरका बिजु बिरुवा (बीउबाट उत्पादन भएको), कलमी, चेन्डर (अस्ट्रेलियन जात), चुच्चे ओखर (कास्मिरी थिनसेल जाति) लगायतका जातहरु प्रचलनमा रहेका छन् । कलमीले १ देखि डेढ वर्षबाटै उत्पादन दिन सुरु गरे पनि हाडे ओखर हुनसक्ने प्राविधिकहरु बताउँछन् । त्यसैले यसको बिजु बिरुवा नै उपयुक्त मानिन्छ ।

ओखरको बजार मूल्य अहिले ६ सय देखि १ हजार रुपैयाँसम्म रहेको छ । उत्पादन दिन छाडेको ओखरलाई काठको रुपमा पनि प्रयोग गर्न सकिन्छ । ओखरको काठ सजावटका सामग्री तथा बहुमूल्य फर्निचर बनाउन प्रयोग गरिन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस