दार्मा, २७ जेठ । देश पुरै लकडाउनमा छ । नागरिकहरु घरभित्र बस्न बाध्य छन् । यातायातका साधन ठप्प छन् तर पनि दार्मा गाउँपालिकाको विकासका योजना भने रुकेका छैनन् । आइतबार एकैदिन गाउँपालिका अध्यक्ष निमबहादुर केसीले तीनओटा योजनाहरुको शुभारम्भ गर्नुभएको छ ।

गाउँपालिकाका अध्यक्ष केसीले आइतबार वडा नं. ४ को रारेचौर–पेदी–पुखात–फारुलाचौर सडक, वडा नं. ३ र ४ स्थित मौलाहाले–फारुला–दार्माकोट सडकस्तरबृद्धि र वडा नं. ४ कै स्वास्थ्यचौकी भवन निर्माण योजनाको शिलान्यास गर्नुभएको हो । विकास कोरोनाका कारण रुक्न नहुने भन्दै अध्यक्ष केसीले गाउँपालिकाका सम्पूर्ण योजनाहरु तोकिएको समयमै सम्पन्न गर्न आफू लागिपरेको बताउनुभयो । कोरोनाका कारण विकास योजनाहरु रोक्दा त्यसले दीर्घकालीन असर पार्ने भएकाले कोरोना नियन्त्रणमा उच्च सतर्कता अपनाउँदै पालिकाले विकासलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।

आइतबार शिलान्यास गरिएका तीनवटै योजनाहरु शारदा नगरपालिका सल्यानको जेनिशा निर्माण सेवा एण्ड सप्लायर्सले निर्माणको ठेक्का पाएको छ । रारेचौर–पेदी–पुखात–फारुलाचौर सडकको अनुमानित लागत २१ लाख ७ हजार ५ सय ४८ रहेकोमा ८ लाख ८४ हजार ५ रुपैयाँमा ठेक्का कबोल गरेको छ । त्यस्तै २१ लाख ४० हजार ९ सय ६७ अनुमानित लागत रहेको मौलाहाले–फारुला–दार्माकोट सडकस्तरबृद्धि कम्पनीले १४ लाख ४७ हजार ९ सय ६० मै ठेक्का कबोल गरेको गाउँपालिकाका इन्जिनियर मधुसुदन केसीले जानकारी दिनुभयो । सोही कम्पनीले ३२ लाख ८४ हजार ९ सय २८ मा दार्मा गाउँपालिका वडा नं. ४ मा चारकोठे पक्की भवन निर्माणको कामको समेत शुभारम्भ गरेको छ ।ठेक्काका योजना मात्र होइन अहिले गाउँपालिकाको आफ्नै जेसिबीले वडाका विभिन्न स्थानमा बिग्रेका सडक मर्मत गर्नेदेखि नयाँ ट्रयाक खोल्नेसम्मका कामहरुमा तिब्रता दिएको इन्जिनियर केसीले बताउनुभयो । लकडाउनको समयलाई सदुपयोग गर्दै आफूहरुले स्वास्थ्यलाई समेत पर्वाह नगरी विकासलाई गति दिएको केसीले बताउनुभयो । लकडाउन खुल्ने बित्तिकै सवारी चाप बढ्ने भएकाले अहिले सडकका योजनाहरुको काम तीब्र पारिएको उहाँले बताउनुभयो ।

हाल दार्मा गाउँपालिकामा सडक निर्माणका योजनाहरु निर्माणको अन्तिम चरणमा रहेका छन् । यस आर्थिक वर्षमा पालिकामा नयाँ सडक निर्माण तथा मर्मतको काम सम्पन्न गरी सडक सञ्जाललाई गाउँगाउँमा पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो । जनता घरभित्रै बसेको बसेको अवस्थामा कोरोनाको सङ्कट टर्दा विकासको अनुभूति दिलाउने गरी काम भइरहेको प्रमुख खड्काले बताउनुभयो ।

गाउँपालिकामा यस आर्थिक वर्षमा यातायात पूर्वाधारतर्फ मात्रै ४ करोड ७ लाख १० हजार विनियोजन भई अन्तिम चरणको काम भइरहेको छ । त्यसैगरी भवन, आवास तथा सहरी विकासमा १ करोड ६३ लाख , खानेपानी तथा सरसफाईका योजनामा ४ करोड ४६ लाख, जलस्रोत तथा सिंचाईमा २६ लाख ५० हजार छुट्याइएकोमा योजनाको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकारको विशेष अनुदानअन्तर्गतको जुगेपानी–तल्छारे–काफलनेटा लिफ्ट खानेपानी आयोजना र कर्णाली प्रदेश सरकारको समपुरक योजनाअन्तर्गतको सुन्धारी–घरबारी–सूर्योदय मावि लिफ्ट खानेपानी आयोजना पालिकाकै ठूला खानेपानी आयोजना हुन् । यी दुई आयोजनामा मात्रै ३ करोड बढीको लगानी रहेको छ । यिनको पूर्णतासँगै वडाका बासिन्दाको खानेपानीको अभाव टार्नेमा गाउँपालिका लागेको छ । ढाकाडामकोट–साङ्ट–झ्यारिबाङ–फारुला–तिमिलकाँडा सडक, भीरबाटी–दुबाङ–फारुला सडक, फारुला–तिमिलकाँडा सडक, मौलाहाले–फारुला सडक ग्रावेल, फारुला बजार सडक पिसिसी पालिकाका महत्वपूर्ण सडक आयोजनाहरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताउनुभयो ।

८२ लाखको लागतमा निर्माण हुन लागेको सहिद स्मृति रङ्गशाला निर्माण आयोजनाको ३ दिन पहिले अध्यक्ष केसीले उद्घाटन गर्नुभएको थियो । उज्यालो अभियान अन्तर्गत पालिकामा अहिले २ करोड २५ लाखको बिजुली बत्ती विस्तारको काम भइरहेको छ ।

पक्की पुलको काम भने अधुरै

राजमार्ग जोड्नका लागि दार्मा खोलामा ३ करोड ५६ लाखको लागतमा बन्न लागेको पुलको काम भने बिचमै छाडेर ठेकेदार बेपत्ता भएको पालिकाले जनाएको छ । यो पुलको २०७६ पुस १७ गते गाउँपालिका अध्यक्ष केसीले शिलान्यास गर्नुभएको थियो । रारेचौर–फारुलाचौर सडकखण्डको दार्माखोलामा निर्माण थालिएको पुल लक्ष्मण जे.भी. भरतपुर चितवनको निर्माण कम्पनीले ठेक्का लिएको थियो । लागत अनुमान ३ करोड ५६ लाख भए पनि १ करोड ८७ लाख २ हजार ८ सय ८२ रुपैयाँमा कम्पनीले ठेक्का कबोल गरेको थियो । यो पुल निर्माण पश्चात् बाह्रै महिना यातायात सूचारु गर्ने पालिकाको योजना भने यो साल अधुरै रहने पक्का छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस