दाङ, ३ कार्तिक । दाङमा पहिलो पटक राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सिटीस्क्यान सेवा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको झण्डै तीन करोड लगानीमा अत्याधुनिक सिटीस्क्यान मेसिन संचालनमा आएको प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका फारमेसी सुपरभाइजर रोशन तिमिलसेनाले जानकारी दिनुभयो ।

१६ स्लाइसको सिटी स्क्यान मेसिन दाङमा रहेका सरकारी अस्पतालमध्ये पहिलो पटक जडान गरिएको हो । अनौपचारिक रुपमा आइतबारदेखि सेवा सुरु भए पनि औपचारिक रुपमा भने दशैँपछि गरिने राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिनुभयो ।

परीक्षणकालको समयमा गरिएको सिटी स्क्यान सेवा निःशुल्क हुने अस्पतालले जनाएको छ । औपचारिक रुपमा उद्घाटन गरेर सुरु भएपछि भने सिटी स्क्यानको प्रकृति हेरेर पाँच हजारदेखि छ हजार पाँचसय रुपैयाँसम्म शुल्क लाग्ने अस्पतालका डा. शर्माले बताउनुभयो ।

टाउकोमा लागेको चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुने अस्पतालले बताएको छ । अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा प्रति महिना ४५ देखि ५० जनासम्म बिरामीहरु नेपालगञ्ज जान बाध्य थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस