दाङ, २० मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वडा नं. ११ को सुकौरालाई थारु समुदायको विशेष गन्तव्यस्थलका रुपमा विकास गरिने बताउनुभएको छ । वडा नं. ११ को सुकौरामा आयोजित प्रतीक्षालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले थारुहरुको इतिहास बोकेको सुकौराकोटको विकासका लागि गुरुयोजना तयार भइसकेको भन्दै सम्पूर्ण पर्यटकीय पूर्वाधारहरुसहित विकास गरिने बताउनुभएको हो ।

स्थानीय सरकारले यो ग¥यौँ भन्नुभन्दा पनि आफूले गरेका विकासहरु जनतासामु प्रष्ट देखिएको प्रमुख पाण्डेको भनाइ थियो । विकासका सवालमा राजनीतिक आस्थामा विभाजित नभई सम्पूर्ण गाउँ तथा समुदाय एक भए मात्रै विकासले गति लिने उहाँले बताउनुभयो । जनताको अग्रसरता भएमा विकासले गति लिने भन्दै प्रमुख पाण्डेले जनताका आवश्यकता अनुसारका विकास निर्माण क्रमशः पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै दङ्गीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले थारु संस्कृतिलाई समेटेर सुकौरा हुँदै दङ्गीशरण गाउँपालिकासहितको रुट बनाउनु पर्ने बताउनुभयो । पर्यटन जनताको समृद्धिको आधार भएको भन्दै चौधरीले सम्पूर्ण थारु संस्कृति झल्कनेगरी विकास गर्नुपर्ने भनाइ राख्नुभयो । उक्त अवसरमा बोल्दै नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य गिरिराज केसीले थारु संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो ।स्थानीय समाजसेवी श्याम गिरीले पर्यटकीय क्षेत्र विकास, सीमसार क्षेत्रको संरक्षण, सिचाईंलगायतका मागसहितको ज्ञापनपत्र नगरप्रमुख पाण्डेलाई बुझाउनुभएको थियो । चोपबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा तिलकराम थारुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन तेजबहादुर डाँगीले गर्नुभएको थियो ।

४ लाख ९ सय ६ रुपैयाँमा निर्माण सम्पन्न भएको प्रतीक्षालयमा नगरपालिकाले ३ लाख ६ सय ८० रुपैयाँ विनियोजन गरेको थियो भने बाँकी निर्माण कार्य स्थानीयको श्रमदानमा सम्पन्न भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस