दाङ, २० मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वडा नं. ११ को सुकौरालाई थारु समुदायको विशेष गन्तव्यस्थलका रुपमा विकास गरिने बताउनुभएको छ । वडा नं. ११ को सुकौरामा आयोजित प्रतीक्षालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले थारुहरुको इतिहास बोकेको सुकौराकोटको विकासका लागि गुरुयोजना तयार भइसकेको भन्दै सम्पूर्ण पर्यटकीय पूर्वाधारहरुसहित विकास गरिने बताउनुभएको हो ।
स्थानीय सरकारले यो ग¥यौँ भन्नुभन्दा पनि आफूले गरेका विकासहरु जनतासामु प्रष्ट देखिएको प्रमुख पाण्डेको भनाइ थियो । विकासका सवालमा राजनीतिक आस्थामा विभाजित नभई सम्पूर्ण गाउँ तथा समुदाय एक भए मात्रै विकासले गति लिने उहाँले बताउनुभयो । जनताको अग्रसरता भएमा विकासले गति लिने भन्दै प्रमुख पाण्डेले जनताका आवश्यकता अनुसारका विकास निर्माण क्रमशः पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै दङ्गीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले थारु संस्कृतिलाई समेटेर सुकौरा हुँदै दङ्गीशरण गाउँपालिकासहितको रुट बनाउनु पर्ने बताउनुभयो । पर्यटन जनताको समृद्धिको आधार भएको भन्दै चौधरीले सम्पूर्ण थारु संस्कृति झल्कनेगरी विकास गर्नुपर्ने भनाइ राख्नुभयो । उक्त अवसरमा बोल्दै नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य गिरिराज केसीले थारु संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो ।
स्थानीय समाजसेवी श्याम गिरीले पर्यटकीय क्षेत्र विकास, सीमसार क्षेत्रको संरक्षण, सिचाईंलगायतका मागसहितको ज्ञापनपत्र नगरप्रमुख पाण्डेलाई बुझाउनुभएको थियो । चोपबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा तिलकराम थारुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन तेजबहादुर डाँगीले गर्नुभएको थियो ।
४ लाख ९ सय ६ रुपैयाँमा निर्माण सम्पन्न भएको प्रतीक्षालयमा नगरपालिकाले ३ लाख ६ सय ८० रुपैयाँ विनियोजन गरेको थियो भने बाँकी निर्माण कार्य स्थानीयको श्रमदानमा सम्पन्न भएको थियो ।












