दाङ, २५ मङ्सिर । राइखलियानदेखि टिकरी जोड्ने पक्की पुलको आज शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राइखलियानदेखि वडा नं. ८ को टिकरी जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पश्चिम दाङ विकासबाट पछि पर्नेमा चिन्ता नगर्न भन्दै लुम्बिनी प्रदेशका सम्पूर्ण क्षेत्रको विकास हुने बताउनुभयो । दाङको विकट मानिने गङटेमा समेत पुल निर्माण कार्य अगाडि बढिसकेको बताउँदै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले प्रदेशका सम्पूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्ने बताउनुभयो । अमिलिया र पश्चिम दाङ जोड्ने वैकल्पिक मार्गअन्तर्गत पातुखोलामा पक्की पुलको आवश्यकता देखिएकोमा त्यो आवश्यकतासरकारले पूरा गरेको पोखरेलले बताउनुभयो ।

जनताको सहयोगमा मात्रै विकासले गति लिने बताउँदै उहाँले थोरै जमिन जाँदा अड्को थाप्नु भनेको विकास नचाहेको प्रष्ट हुने बताउनुभयो । सार्वजनिक जमिनको अभाव बढ्दै गएकोले पुल छेउँमा तटबन्धनपश्चात निस्कने जमिन अतिक्रमण गर्ने भन्दा पनि स्थानीयले त्यसको सुरक्षा गर्नुपर्ने मुख्यमन्त्रीको भनाइ थियो । सार्वजनिक जमिनहरु औद्योगिक क्षेत्रको विकासका लागि प्रयोग गर्न सकिने भएकाले त्यसलाई जोगाएर राख्नुपर्ने उहाँको धारणा थियो ।भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल ओली, लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, निर्माण व्यवसायी ईश्वर पुनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघीय सरकारको सशर्त अनुदान अन्तर्गत बन्न लागेको उक्त पुलको लम्बाइ ७० मिटर र चौडाइ १० मिटरको रहेको छ । भ्याटसहित लागत अनुमान ११ करोड २९ लाख ३१ हजार ९ सय २ रुपैयाँ ८६ पैसा रहेकोमा निर्माण कम्पनी हिराचन/जलजला/जय मा स्वर्गद्वारी जेभी घोराही दाङले भ्याटसहित ८ करोड ३१ लाख ६४ हजार २ सय २५ रुपैयाँ ५४ पैसामा ठेक्का सम्झौता गरेको छ । सडक पूर्वाधार विकास कार्यालय दाङ मार्फत कार्यान्वयन हुने उक्त पुलको २०७९ असोज ३० गतेभित्र निर्माण सम्पन्न गर्नेगरी २ वर्षको अवधि रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस