दाङ, २७ मङ्सिर । तुलसीपुर उपमहानगरपालिका दाङमा अब घर नक्सापासको काम अनलाइनबाटै हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै आउँदो पुस १ गतेबाट अनलाइनबाटै घर नक्सापास हुने जानकारी गराएको हो ।
अनलाइन घर नक्सापाससम्बन्धी जानकारी दिँदै भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका इन्जिनियर अखिल पोख्रेलले कन्सल्टेन्सीदेखि वडा कार्यालय एवं शाखाका सम्पूर्ण कामहरु अनलाइनबाटै हुने बताउनुभयो । अनलाइनबाटै फाइल आफै सम्बन्धित टेबलमा जाने भएकाले सेवाग्राही फाइल बोकेर कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।
युएनडिपीको सिडिआरएमपी कार्यक्रमअन्तर्गत तयार भएको सफ्टवेयर कस्टमाइजेसनका लागि नगरपालिकाले इनोभेटिभ सोलुसनसँग ४ लाख ९८ हजार ३ सय रुपैयाँमा सम्झौता गरेको छ । सम्पूर्ण प्राविधिक सहयोग इनोभेटिभ सोलुसनको रहने उक्त सफ्टवेयरमा सेवाग्राहीले IP Address 202.45.146.233 मा गएर विद्युतीय प्रणालीबाटै घर नक्सापासको काम गर्न सक्नेछन् ।
पत्रकार सम्मेलनमा जानकारी दिँदै इन्जिनियर पोख्रेलले विद्युतीय प्रणालीमार्फत अनलाइन दर्ता, फाइल कहाँ पुगेको छ सोको ट्रयाकिङ, भवन मापदण्डसम्बन्धी राष्ट्रिय भवन संहिता चेकजाँच गर्न, नक्सा पास बुक, संधियार, मुचुल्का, सर्जमिन, रिपोर्ट हेर्न एवं प्रमाणपत्रहरु प्रिन्ट गर्नेजस्ता सम्पूर्ण कार्यहरु गर्न सकिने बताउनुभयो । विद्युतीय प्रणाली लागु हुँदा पुराना मिसेलहरु हराउने समस्याको समेत समाधान हुने पोख्रेलले बताउनुभयो । सफ्टवेयरमा सबै परामर्शदाताको नाम, ठेगाना तथा सम्पर्क नम्बर समेत राखिने भएकाले सेवाग्राहीलाई परामर्शदाता छनौटमा समेत सहजता आउने उहाँको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले स्मार्ट सिटीको अवधारणा अनुरुप पालिकाका सेवाहरुलाई प्रविधिसँग जोडिएको बताउनुभयो । शासकीय स्वरुपलाई स्मार्ट बनाउँदै लगेको बताउँदै उहाँले अब नागरिकलाई पनि स्मार्ट बनाउने लक्ष्य रहेको बताउनुभयो । विद्युतीय नक्सापास, क्यासलेस उपमहानगरपालिका जस्ता कार्यहरु सुशासनका हिसाबले पनि नयाँ अभ्यास भएको नगर प्रमुख पाण्डेले बताउनुभयो ।
कार्यक्रममा नेकपाका मिनराज भण्डारीले नक्सापासको शुल्क निश्चित हुनुपर्ने धारणा राख्नुभयो । विभिन्न स्थानमा नक्सापास भएको भन्दा बढी तला निर्माण भएको भन्दै उहाँले त्यसको अनुगमन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रमोद बस्नेत, राप्रपाका छोटीलाल चौधरी लगायतले आफ्नो धारणा राख्नुभएको थियो । पत्रकार सम्मेलनको सहजीकरण उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले गर्नुभएको थियो ।












