तिर्थराज ज्ञवाली

बडहरा(देउखुरी दाङ), २७ मंसिर । लुम्बिनी प्रदेशको गढवा गाउँपालिका वडहरास्थित कुलपानी सामुदायिक वन समूहले सञ्चालनमा ल्याउन थालेको काष्ठ संग्राहलयको उद्घाटन गरिएको छ । परम्परागत काष्ठ सामग्रीको संग्रह गरिएको काष्ठ संग्रहालयको प्रदेशसभा सदस्य अमर बहादुर डाँगी, अर्जुन कुमार श्रेष्ठ र इन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले  संयुक्त रुपमा ढिकी कुटेर र कोल पेलेर उद्घाटन गर्नुभएको हो ।

कुलपानी समूह, स्थानीय पालिका, वन महासंघ, वन कार्यालय, स्थानीय उपभोक्ता, हरियोवन कार्यक्रम तथा ब्यक्तिगत सहयोगदाताको संयुक्त लगानीमा सुरु गरिएको सङ्ग्रहालयमा परम्परागत काष्ठ सामग्रीको संग्रह गरिएको छ । पर्या पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यका साथ समूहले हरितपार्कको विकास गरिरहेको बेला काष्ठजन्य सामग्रीको संरक्षण तथा पुस्तान्तरणका लागि काष्ठ संग्रहालयको स्थापना गरिएको र आगामी दिनमा धेरैभन्दा धेरै पुरानो चलनमा प्रयोग हुँदै आएका काठका सामग्री संग्राहलयमा राखिने समूहका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै अतिथिहरुले कुलपानी समूहले सुरु गरेको हरितपार्क, धार्मिक पर्यटकीय स्थल, सिमसार संरक्षण, ताल तलैया तथा काठका सामग्री संग्राहलयको विकास र संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा काष्ठ संग्रहालयको ब्यवस्थापनका लागि समूहलाई तीन लाख रुपैयाँ समेत केन्द्रीय वन महासंघ, वन महासंघ दाङ र हरियो वन कार्यक्रमको तर्फवाट समूहका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । सो रकम संग्रहालयको स्थापना, सञ्चालन, संरक्षण तथा भौतिक निर्माणमा प्रयोग गरिने बताइएको छ ।कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य रेश्मीराज नेपाली, केन्द्रीय वन महासंघका सचिव ठाकुर भण्डारी, वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी, लुम्बिनी प्रदेश वन महासंघ सदस्य लालबहादुर भण्डारी, राप्ती वन महासंघका अध्यक्ष हरि भुसाल, हरियो वन टिम लिडर सीता अर्याल, मानबहादुर विके, सुनिलकुमार चौधरी, कालाकाटे वन डिभिजनका रेन्जर दिनेश डाँगी, इन्जिनियर विनयकुमार यादव, जनशक्ति वन समूहका चित्रबहादुर महतरा, स्थानीय वन महासंघका हरिप्रसाद सुवेदी, भागीराम डाँगी, रामबहादुर नेपाली, पत्रकार  खेमराज रिजाल, तिर्थराज ज्ञवाली, कुलपानी वन समूहका भरत अधिकारीलगायतले समूहको प्रगतिको लागि शुभकामना दिनुभएको थियो ।

कुलपानी वन समूहले धार्मिकस्थल, पार्क क्षेत्रमा बाल उद्यान, पिकनिक स्थल, डुङ्गा शयर, वन सफारी, तलाउमा फिसिङ्ग, फलफुल बगैँचा, काष्ठ उद्योग सञ्चालनमा ल्याएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस