दार्मा, २ जेठ । दार्मा गाउँपालिका सल्यानले बाँझो रहेको झण्डै ३ रोपनी सार्वजनिक जग्गालाई खेतीयोग्य जमिनमा परिणत गरेको छ । दार्मा गाउँपालिका वडा नं. ६ जुरढुङ्गाको ३ रोपनी जग्गालाई गाउँपालिकाका कर्मचारीहरुले श्रम गरी खेतीयोग्य बनाएका हुन् । गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले प्रत्येक महिनाको १ गते गरिने श्रम दिवस अभियानको उद्घाटन गर्नुभएको थियो ।

कर्णाली प्रदेश सरकारले गरेको बाँझो जग्गालाई खेतीयोग्य जमिनमा रुपान्तरण गर्ने लक्ष्य अनुरुप प्रत्येक महिनाको १ गते श्रम दिन तय गरी बाँझो जमिनलाई पूर्ण रुपमा उपयोग गर्ने गरी कामको थालनी भएको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो । उक्त जग्गामा धान रोपिने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाभित्र झण्डै १ सय रोपनी सार्वजनिक जग्गा बाँझो रहेको गाउँपालिकाले जनाएको छ । उक्त बाँझो जग्गामा विभिन्न मौसमी बाली, जडिबुटी तथा फलफूलका बिरुवा रोपिने बताइएको छ । सामुदायिक वन क्षेत्र तथा अन्य सार्वजनिक बाँझो जग्गालाई उपयोग गरी उत्पादनसँग जोडिने दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी बताउनुहुन्छ । सार्वजनिक जग्गामा खेती गरी उत्पादित खाद्यान्नलाई खाद्यान्न बै‌ंक निर्माण गरी स्टोर गरिने र गरिब तथा बिपन्न परिवारहरुलाई राहतका रुपमा उपलब्ध गराइने उहाँले बताउनुभयो । श्रम दिवसमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

यो अभियानमा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समेत सहयोग गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस