तिर्थराज ज्ञवाली

मसुरीया (देउखुरी दाङ), २७ माघ । कला संस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरुको नयाँ पुस्तामा पुर्‍याउन राप्ती गाउँपालिका वडा नं. ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । वडा कार्यालयको बार्षिक बजेट अनुसार वडा नं. ३ नयाँबस्तीमा एक समूह गठन गरी नौमती बाजा हस्तान्तरण गरिएको हो ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पन्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नुभएको हो । दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पन्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरिएको वडा नं. ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा भएको नौमती बाजा हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, ईन्जिनियर अशोक बेल्वासेलगायतको सहभागिता रहेको थियो ।नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चारवटा अरू बाजाहरू थपिएको हुन्छ । जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको हो ।

पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस