तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी दाङ), २७ माघ । कला संस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरुको नयाँ पुस्तामा पुर्याउन राप्ती गाउँपालिका वडा नं. ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । वडा कार्यालयको बार्षिक बजेट अनुसार वडा नं. ३ नयाँबस्तीमा एक समूह गठन गरी नौमती बाजा हस्तान्तरण गरिएको हो ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पन्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नुभएको हो । दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पन्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरिएको वडा नं. ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभएको छ ।
वडा अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा भएको नौमती बाजा हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, ईन्जिनियर अशोक बेल्वासेलगायतको सहभागिता रहेको थियो ।
नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चारवटा अरू बाजाहरू थपिएको हुन्छ । जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको हो ।
पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ ।












