दाङ, २६ माघ । दाङमा ५१ हजार ४ सय ७८ मतदाता थप भएका छन् । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले दिएको जानकारी अनुसार २०७७ पुस ५ पछि यो सङ्ख्या थप भएको हो । यसमा १६ वर्ष पूरा भएका तर १८ वर्ष नपुगेका व्यक्तिको समेत सङ्ख्या समावेश भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिनुभयो ।

पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा २ लाख ११ हजार ९ सय ५४ महिला, २ लाख ३ हजार १४ जना पुरुष र २ जना तेस्रोलिङ्गीसहित दाङको मतदाता सङ्ख्या ४ लाख १४ हजार ९ सय ७० पुगेको छ ।

दाङमा २०७७ पुस ५ पछि सबैभन्दा बढी मतदाता तुलसीपुर उपमहानगरपालिकामा थपिएका छन् । तुलसीपुर उपमहानगरपालिकामा १६ हजार ७१ जना मतदाता थपिएका छन् । त्यसैगरी घोराही उपमहानगरपालिकामा १३ हजार ७७ जना र लमही नगरपालिकामा २ हजार ६ सय ६९ जना थप भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै गढवा गाउँपालिकामा ३ हजार ८ सय १४ जना, दङ्गीशरण गाउँपालिकामा २ हजार २ सय ६१ जना, बङ्गलाचुली गाउँपालिकामा २ हजार ४ सय ६१ जना, बबई गाउँपालिकामा ३ हजार ८२ जना, राजपुर गाउँपालिकामा २ हजार ७ सय १९ जना, राप्ती गाउँपालिकामा २ हजार ६ सय ३५ जना र शान्तिनगर गाउँपालिकामा २ हजार ६ सय ८९ जना मतदाता थपिएका छन् । १६ वर्ष काटेका तथा १८ वर्ष पूरा नभएका व्यक्तिहरुको समेत नाम समावेश भएको हुँदा आउँदो चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या भने केही घट्ने कार्यालयले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस