दाङ, ११ फागुन । ‘एक वडा एक चौतारी सदस्य’ अभियान अन्तर्गत घोराही र बंगलाचुली गाउँपालिकास्तरीय प्रेस चौतारीको कमिटी गठन गरिएको छ । घोराही उपमहानगरमा चौतारी दाङका कार्यसमिति सदस्य सुवास शर्माको अध्यक्षतामा र बंगलाचुलीमा कार्यसमिति सदस्य मुना खनालको अध्यक्षतामा कमिटी गठन गरिएको छ । घोराही नगर कमिटीको सचिवमा विनोद नेपाली र बंगलाचुलीको सचिवमा भेषराज जिसी रहनुभएको छ ।

प्रेस चौतारी दाङको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा तीनदिने आधारभूत पत्रकारिता तालिम बुधवार सम्पन्न भएको छ । चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको तालिम समापनमा घोराही उपमानगरपालिका कार्यवाहक नगर प्रमुख भरतमणि अर्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न प्रशिक्षार्थीलाई सुझाव दिनुभयो । ‘ यो आधारभूत तालिमले तपाईंहरुलाई पत्रकारिता क्षेत्रमा प्रवेश गर्न ढोका खोलेको छ’ कार्यक्रममका प्रमुख अतिथि समेत रहेका अर्यालले भन्नुभयो ‘अब अघि बढ्न तपाईंहरुको क्रियाशीलतामा नै भर पर्छ ।’ उहाँले पत्रकारिता क्षेत्रको विकास र नयाँ पत्रकार उत्पादनको लागि उपमहानगरले विगतदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष सनिव प्रियाशन र केन्द्रीय सल्लाहकार शरद अधिकारीले पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा प्रेस चौतारीले विगतदेखि भूमिका खेल्दै आएको चर्चा गर्नुभयो । समापन कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सहभागी लुमा भण्डारी र राजन बुढा मगरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष प्रेमबहादुर राम्जाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।

तीन दिनसम्म चलेको तालिममा आम संचार, समाचार, समाचार लेख्ने तरिका, राजनीतिक विषयका समाचार, फिचर, समाचारका कोण र महत्व, पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता, अवसर र चुनौती, समाजिक संजालको प्रयोग र अनलाइन पत्रकारिताका सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।

तालिमको प्रशिक्षकहरुमा पत्रकारहरु शरद अधिकारी, दुर्गालाल केसी, टीका बस्नेत, जे एन सागर, बसन्त आचार्य, रञ्जिता शर्मा र दशरथ घिमिरे लगायत हुनुहुनुथ्यो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस