तिर्थराज ज्ञवाली

चैते शान्तिपुर (दाङ), २४ फागुन । राप्ती गाउँपालिका क्षेत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको छ । मंगलवार एक कार्यक्रमकाबीच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गर्नुभएको हो ।

राप्ती गाउँपालिकाको पूर्वमा पर्ने वडा नं १ को चैतेबाट जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात थालिएको छ । राष्ट्रिय भूमि आयोग भूमिहिन दलित, भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सेवा केन्द्र मसुरीयाको आयोजनामा सर्भेयर, अमिन तथा प्राविधिकसहितको टोलीले यथाशक्य छिटो काम गर्ने कार्यक्रममा बताइएको छ । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण तथा तथ्याङ्क संकलन गरी प्रमाणीकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई तोकिए बमोजिम राप्ती गाउँपालिकामा फारम भर्ने र तथ्याङ्क संकलन गरी प्रमाणीकरण गर्ने काम सम्पन्न भैसकेको छ ।नेपालको संविधानको धारा २५ मा सम्पत्तिको हक, धारा ३७ मा आबासको हक, धारा ४० मा दलितको हक र धारा ४२ मा सामाजिक न्यायको हक व्यवस्था भएको साथै संविधानको भाग–४, निर्देशक सिद्धान्त, नीति तथा दायित्वको (च) सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिको (६) वमोजिम भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन व्यवस्था गर्ने भनी लेखिएको छ ।

सो संवैधानिक व्यवस्था कार्यान्वयनकै लागि २०७६ माघ २८ मा भूमिसम्बन्धी ऐन, २०२१ को आठौं संशोधन गरी ऐनको दफा ५२ (क) मा भूमिहीन दलितलाई एकपटकको लागि तीन वर्षभित्र जमिन उपलब्ध गराउने, ५२ (ख) मा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा ५२ (ग)मा अव्यवस्थित वसोवासीलाई व्यवस्थापन गर्ने भनी ऐनमा उल्लेख गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस