घोराही, ३ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोट टोलमा रहेका माओबादी र नेपाली कांग्रेस पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । गएको चैत्र २२ गते घोराहीमा आयोजित कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा आस्था राख्दै आएका ४० घर बढीलाई एमालेमा प्रवेश गराउनुभएको थियो ।
लगत्तै फेरि शनिवार पार्टीका पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले नेकपा माओवादीका नगर कमिटी सदस्य भई क्षेत्र नम्बर २ को प्रदेश ख का निर्वाचन आयोग सदस्य धीरेन्द्रकुमार रोका मगर (लालकुमार) सहित २९ जना माओवादीका नेता कार्यकर्तालाई एमाले पार्टीमा स्वागत गर्नुभएको छ । मसोट खोला सामुदायिक भवन परिसरमा आयोजित कार्यक्रममा पोलिटव्यूरो सदस्य चौधरीले माओवादीका २९ जना र नेपालीका कांग्रेसका ४ जनालाई टीका लगाएर एमालेमा प्रवेश गराउनुभएको हो ।
एमाले पार्टीमा प्रवेश गर्नेहरुमा लालकुमारसहित लक्षिण घर्तीमगर, जयकुमार घर्तीमगर, महेश विक, अमरजित घर्ती, मनजीत पुनमगर, मनिसा विक, सीता घर्ती, निशा पुन, विजय राना, दिलमाया विक, मंगलादेवी ओली, हरिदेवी विक, करण शाही, मनसरा बुढा, टिकादेवी गुरुङ, साङली विक, धनकुमारी रोका, रामकुमार घर्ती, चन्द्रबहादुर पुन, मिना कार्की, शोभा महरा, रामसरी बुढाथोकी क्षेत्री, विरबहादुर विक, बालाराम पुन, फर्के विक, लक्षिण घर्ती र रिमकली पुन रहनुभएको छ ।
त्यस्तै नेपाली काँग्रेस पार्टी परित्याग गरी रामबहादुर बैजाली, रामबहादुर थापा, कमल वली र मोहन बस्नेत एमालेमा प्रवेश गर्नुभएको छ । कार्यक्रममा बोल्दै केही दिन पहिले माओबादीबाट एमालेमा प्रवेश गरेका खुमबहादुर खड्काले माओवादीले नीति विचार सिद्धान्त भुलेर पूँजीवादमा फसेको बताउनुभयो । आश्वासन दिने तर गरी पुराउन नसक्ने भएपछि त्यस्तो पार्टीमा बस्न उचित नमारेर एमाले रोजेको बताउनुभयो । जनताको न्याय र देश विकास गर्ने पार्टी एमाले देखेपछि सिंगो गाउँ नै एमालेको नीतिमा अघि बढ्न चाहेको उल्लेख गर्नुभयो ।
पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य चौधरीले भूमिहीन सुकुम्बासीलाई जग्गा दिने तयारी भएको तर वर्तमान गठबन्धन सरकारले त्यो अधिकारलाई कुण्ठित गरेको बताउनुभयो । माओवादी, कांग्रेस र एकीकृत समाजवादी पार्टी जनतालाई न्याय अधिकार दिनेभन्दा आफ्ना मान्छेहरुलाई कसरी नियुक्ति दिने भन्नेमा मात्रै केन्द्रित भएको बताउनुभयो । घोराही उपमहानगरपालिकाले भूमिहिनलाई जग्गा दिने तयारी गरेको तर वर्तमान सरकारले त्यसलाई रोकेर अधिकार समेत खोसेको आरोप लगाउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्मा, एमाले प्रदेश सदस्य नारायणप्रसाद भुसाल, नगर इन्चार्ज गेहेन्द्र बस्नेतले एमाले विरुद्ध गठबन्धन बनाएर लागेकाहरुलाई चुनाव पर्खेर बस्न चेतावनी दिनुभयो । चुनाब सार्ने समेत षडयन्त्र भैरहेको भन्दै उहाँहरुले त्यसका विरुद्ध डटेर नेता कार्यकर्ता लाग्ने बताउनुभयो ।
भेलाले बेलबहादुर घर्तीको अध्यक्षतामा एमाले टोल कमिटी र दिनेश घर्तीमगरको अध्यक्षतामा युवा संघ टोल कमिटी गठन गरेको छ । नेकपा एमाले घोराही ३ का अध्यक्ष एवं वडा अध्यक्षका उम्मेद्वार रामप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव रामबहादुर केसीले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले चिसापानी टोल कमिटीका सदस्य भवानी थापाले स्वागत गर्नुभएको थियो । नेकपा एमालेले घोराही ३ मा रामप्रसाद चौधरी अध्यक्ष, युवराज सुवेदी, मीना बुढाथोकी, सुकाराम चौधरी र जानका विकलाई सदस्यको उम्मेद्वार बनाएको छ ।











