राजन घर्ती मगर
दाङ, १४ वैशाख । नेकपा एमाले घोराही उप-महानगरपालिका वडा न.१६ को चुनावी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य एवं नगर प्रमुखका उमेद्वार नरुलाल चौधरीले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
वडा नं. १६ का वडा कमिटी अध्यक्ष जग्लाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेकपा एमाले सरकारमा भएकाे बेला राम्रा कामहरू गरेको देखेर पार्टीप्रति जनताको क्रेज बढ्दै गएको बताउनुभयो । एमालेप्रतिको क्रेज देखेर अहिले अन्य पार्टीहरु अत्तालिएको उहाँको भनाइ थियो । एमालेलाई फुटाउनका लागि केही देशिविदेशि शक्तिको प्रयोग भए पनि पार्टी अझ एकताका साथ अघि बढेको चौधरीले बताउनुभयो ।
आसन्न ३० गतेको चुनावमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने उहाँको धारणा थियो । साथै स्थानीय तहको निर्वाचनमा सृर्य ध्वजावहाक उमेदवारहरुलाई अत्यधिक बहुमतको साथ विजय गराउनको लागि सबैमा अपील गर्नुभयो ।
घोराही उप-महानगरपालिका वडा नं. १६ का अध्यक्ष पदका उम्मेद्वार रवीन डाँगीले आफू वडा अध्यक्षमा निर्वाचित भए तलब सुविधा नलिई थप सहयोग जुटाएर वडावासीको लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य साजिदा सिद्दिकी, घोराही उपमहानगरपालिका उपप्रमुखको उम्मेद्वार हुमा डिसी, प्रदेश कमिटी सदस्य अरुण आचार्य, जिल्ला कमिटी सदस्य बुद्धिराम बुढा, सरस्वती खत्रीलगायतको सहभागिता रहेको थियो । घोराही नगर कमिटी सदस्य गिर बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण वडा कमिटी सचिव तुल्सा केसीले गर्नुभएको थियो ।












