घोराही, १६ वैशाख । दाङका चर्चित वामपन्थी नेता जीवन गौतमले माओवादी केन्द्रमा आफूलाई फर्किएको र गठवन्धनको प्रचारप्रसारमा समेत हिँडेको भनी भ्रमपूर्ण कुरा सामाजिक सञ्जालमा फैलाइएको प्रति आपत्ती प्रकट गर्नुभएको छ । नेता गौतमले केही दिन अगाडि नेकपा माओवादी केन्द्रमा चरम अवसरवाद र आफन्तवाद हावी भएको, कामकाजी मान्छेको मूल्याङ्कन नभएको भन्दै केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज, अनि पार्टीको साधारण सदस्य समेत नरहने गरी माओवादी केन्द्र परित्याग गर्नुभएको थियो ।

घोराही–१८ रझेना निवासी गौतम घरमै बसेको समयमा सोही वडाबाट गठवन्धनको तर्फबाट घरदैलो कार्यक्रममा आफ्नो घर आउँदा सर्वसाधारणको हैसियतले भेटघाट गरेको कुरालाई गठवन्धनको प्रचारमा गौतम हिँड्यो भनि अराजनैतिक चरित्र प्रस्तुत गरेर प्रचारप्रसार गरिएकोमा गौतमले घोर आपत्ति प्रकट गर्नुभएको छ । माओवादी केन्द्र र गठवन्धनको यस्तै क्रियाकलाप कारण दिनप्रतिदिन जनताको नजरबाट खस्किरहेको गौतमको भनाइ छ । जीवन गौतम यस अगाडि २०७४ सालमा घोराही उपमहानगरपालिकाको मेयरका प्रत्यासी हुनुहुन्छ । उहाँ त्यसपछि अर्को पटक पुनः मेयरमा भिड्ने तयारी गरेर आफ्ना राजनीतिक गतिविधि गरिरहनु भएको थियो ।

गौतमकै सक्रियतामा घोराही क्षेत्रमा एकदर्जन बढी विद्यालय, कलेजहरु स्थापित हुनुका साथै सञ्चालनमा आएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सवालमा पनि उहाँको भूमिका अहम् छ । यसका साथै गौतम जिल्लामा हुने सबैखाले गतिविधिमा प्रत्यक्ष सहभागिता राख्नुहुन्थ्यो । तर गौतमले माओवादी केन्द्रले मेयरको टिकट सार्वजनिक नगर्दै पार्टी परित्याग गर्नु भएको हो । कतिपय जिल्लाबासीले गौतम पुनः मेयरमा उठ्नु हुनेछ भन्ने कुरा उहाँले पार्टी परित्याग गर्नु भन्दा पहिले देखि नै सामाजिक सञ्जालमा लेख्ने गरेको पाइन्छ ।

कामकाजी भएकाले गौतमको अभाव दाङको राजनीतिक वृत्तमा परेको छ । उहाँ कुन पार्टीमा गएर आफ्नो राजनीतिक यात्रा तय गर्नु हुनेछ भन्ने विषयमा अहिलेसम्म गौतमले केही खुलाउनु भएको छैन ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस