घोराही उपमहानगरपालिकाले राजीनामा दिएका जनप्रतिनिधिहरुको बिदाई गरेको छ । आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि फेरी उम्मेदवारी दिन जनप्रतिनिधिबाट राजीनामा दिएका निवर्तमान नगर प्रमुख नरुलाल चौधरीसहित वडा अध्यक्ष र सदस्यहरुको बिदाई गरिएको हो ।

नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले टीका, दोसल्ला र करुवा मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको हो । कार्यक्रममा निवर्तमान नगर प्रमुख नरुलाल चौधरीले ५ वर्षे कार्यकालमा जनप्रतिनिधि र कर्मचारीहरुबीच सुमधुर सम्बन्ध भएकै कारण चौतर्फी विकासका काम गर्न सफल भएको बताउनुभयो । सबैको सहकार्य र समन्वयबाटै सडक, शिक्षा, स्वास्थ्य, महिला बालबालिका, जेष्ठ नागरिक, वातावरणको क्षेत्रमा नमूना काम गर्न सफल भएको उल्लेख गर्नुभयो ।

बालमैत्री घोषणा, नगरका सबै गाउँ बस्तीमा सडक सञ्जाल, नमूना कालोपत्रे सडक, फोहोरबाट ग्याँस उत्पादन, मानसिक सन्तुलन गुमाएकाको उद्धार तथा व्यवस्थापन, छाडा पशु चौपायाको व्यवस्थापन, शिक्षक दरबन्दी र प्रअ व्यवस्थापन, पानीको मुहान संरक्षण र सिँचाइ, पर्यटनका लागि ३ दर्जन बढी कृत्रिम जलाशय निर्माण, ८३ वटा कानुन निर्माण गरेर नमूना काम गर्न सफल भएको दावी गर्नुभयो ।

कार्यक्रममा घोराही १५ का निवर्तमान वडा अध्यक्ष रमेशकुमार पाण्डेले ५ वर्षे कार्यकालमा जनताको सेवा गर्ने अवसरमा सबैको साथ सहयोग पाएको बताउनुभयो । कार्यवहाक नगर प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रशासन महाशाखा प्रमुख बालकृष्ण खनालले गर्नुभएको थियो भने सहजीकरण प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले गर्नुभएको थियो । स्थानीय चुनावलाई लक्षित गरी नगरका प्रमुख सहित ४८ जनाले राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस