स्थानीय तह निर्वाचन २०७९ नजिकिएको छ । दलहरुले चुनावी गतिविधि बढाएका छन् । मतदाताको घरदैलोमा जानेक्रम तिव्र रहेको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेको अनुभव संगाल्नु भएकी सामाजिक अभियन्ता घोराही उपमहानगरपालिका नेकपा एमालेका उपमेयरका उम्मेदवार हुमा डिसीसंग गरिएको कुराकानी ।

१. हुमा जी आराम हुनुहुन्छ ? आजभोली के मा व्यस्त हुनुहुन्छ?
हजुर आराम छ, स्थानीय तह निर्वाचनको अभियानमा छौँ । घोराही उपमहानगरपालिकाको नेकपा एमालेको उपमेयरको उम्मेदवार भएका कारण जनतासँग भेटघाटमा छु ।

२. चुनावी अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?
हामी निरन्तर जनताका माझ जाने कुरालाई तीव्र बनाएका छौँ । जनतालाई आफ्ना एजेन्डाहरुबारे जानकारी दिने, त्यहाँका नागरिकहरुसँगको छलफलमै छौँ । नेकपा एमालेको घोराही उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार भएका कारण पनि मैले जनतामाझ पुग्ने कामलाई प्राथमिकतामा राखेको छु । लामो समय सामाजिक अभियन्ताको रुपमा काम गरेँ त्योबेलाको सञ्जालसँगको नियमित सम्पर्क अहिले पनि छ । सामाजिक क्षेत्रका समस्याहरुमा केन्द्रित भएर चुनावी अभियानमा होमिएका छौँ ।  हिजोका दिनमा विधवा महिला, बालबालिकाको क्षेत्रमा काम गरेँ । त्यसको अनुभवका आधारमा काम अगाडि बढाउने छु । सामाजिक क्षेत्र हुँदै नेतृत्व गर्ने ठाउँमा आएको छु, घोराही उपमहानगरवासीले महत्वपूर्ण भोट दिएर मलाई विजय बनाउनुहुन्छ भन्ने विश्वास लागेको छ ।

३ .सामाजिक क्षेत्रमा लागेको मान्छे राजनीतिमा आउनु भएको छ ? जनतालाई कसरी विश्वास दिलाउनुहुन्छ ?
हिजो सामाजिक क्षेत्रमा थुप्रै काम गरेको छु । वडा नागरिक समितिदेखि काम सुरु गरेको हिंसा पीडित महिलाको लागि सुरक्षित आवासगृह सञ्चालन गरेको अनुभव छ । विकास निमार्णका काम मेरो नेतृत्वमा धेरै भएका छन् । गाउँमा खानेपानीका लागि कुवा खन्ने, ह्युम पाइप, विद्युत नभएका ठाँउमा विद्युत पुर्‌याउने काम गरेँ । हिंसामा परेका महिलाहरुका लागि काम गरे । बिधवा महिलालाई रंग भेदको कुरालाई मेरो नेतृत्वमा आवाज उठाएका कारण आज सहज रुपमा रातो लगाउने काम भएको छ ।

स्थानीय तहमा गएर सबै नागरिकको सेवा गर्नु पर्छ भन्ने मान्यताले गर्दा म अगाडि आएको छु । घोराही उपमहानगरपालिकामा आएर कुनै पनि नागरिकलाई निराश बनाउने छैन । विद्यालयमा काम गरेको अनुभव छ । गोरक्ष रत्ननाथ मावि चौघेराको विद्यालय व्यवस्थापन समितिमा बसेर काम गरेको अनुभव छ । पद्मोदय नमुना माविको व्यवस्थापन समितिको सदस्य हुँदा पनि राम्रो काम गरेको छु । विद्यालयलाई व्यवस्थापनका लागि महत्वपूर्ण भुमिका खेलेको छु । एउटा मान्छेलाई पाँचवटा रुख चाहिन्छ भन्ने मान्यताले गर्दा वनमा काम गर्दा पनि महत्वपूर्ण भूमिका रहेको छ । हिँजो नेतृत्व लिने तहमा थिएन आज नेतृत्वमा आउने अवसर मिलेको छ, अझै केही गरेर देखाउन पर्छ भन्ने उद्देश्यले अगाडि बढेको छु ।

४ तपाई‌को घोषणा पत्रमा के कुरा लिएर आउनु भएको छ ?
महिलालाई राज्यले दिएको कुराबाट बन्चित गराउनु हुँदैन । समान सहभागिता हुनु पर्छ । महिलाहरुलाई हरेक क्षेत्रमा सक्षम र सबल बनाउने छौँ । समृद्ध घोराही र सुखी जनता बनाउने कुरालाई प्राथमिकतामा राखेका छौँ । खानेपानी, सडक र शिक्षा, स्वास्थ्य र सिँचाइलाई सबै नागरिको पहुँचमा पुर्‌याउने छौँ । आर्थिक समृद्धि, पूर्वाधार, विकास निमार्णका काम पूरा गर्ने छौँ । समग्रमा सबै नागरिकको हित हुने काम गर्ने छौँ । यिनै स‌ंकल्पका साथ हामी अघि बढेका छौँ ।

५. नगरवासीको मुहार फेर्न कस्तो योजना बनाएर अगाडि बढ्नु भएको छ ?
सुशासन, विकास र समृद्धिको कुरालाई अगाडि सारेका छौँ । विकास निमार्णका कुरालाई अगाडि बढाएका छौँ । स्वास्थ्य, खानेपानी, विद्युतका कुरालाई सबै नागरिकका घर घरमा पुर्‌याउने छौँ। नाला सहितका पक्की बाटो निमार्णलाई प्राथमिकता दिएको छ । अन्यायमा परेका नागरिकलाई न्यायमा सहजरुपमा पहुँच पुर्‌याउने छौँ । महिला उम्मेदवार उपमेयरको रुपमा अगाडि आएको कारण महिलाका मुद्धालाई प्राथमिकतामा राखेर काम गर्ने छौ । ग्रामीण क्षेत्रका महिलाको आवश्यकतालाई राम्रोसँग बुझेको छु त्यसैले महिलाको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने छु ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस