लामो समयदेखि विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका प्रेमनाथ योगी आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका प्रत्यासीकारुपमा हुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवारका रुपमा रहनुभएका योगीसंग गरिएको कुराकानी ।

१. के के चुनावी एजेण्डा लिएर निर्वाचनमा होमिनुभएको छ ?
सर्वप्रथम त मलाई केही विचार राख्न दिनुभएकोमा यहाँ र यहाँको लोकप्रिय सञ्चार माध्यमलाई विशेष धन्यवाद !व्यक्तिगतरुपमा भन्दा पनि हाम्रो पार्टी नेकपा एमालेले संविधानमाफ्त देश र जनताको समृद्धि र विकासको नारालाई अघि सारेको छ । हामीले वडा तहमा कसरी जनतालाई सुखी र वडालाई समृद्ध बनाउन सकिन्छ भन्ने विषय नै प्राथमिकतामा राखेका छौ । लोकतन्त्रमा जनता नै जर्नादन ज्ञहुन् भन्ने ध्येयलाई प्राथमिकतामा राखेका छौ । समग्र वडाको विकासका लागि हामीले योजना अघि सारेका छौ ।

२. विगतमा पनि तपाई कै पार्टीले यस वडामा विजयी हासिल गरेको थियो ती नारामै सीमित रहे कि कार्यान्वयनमा आए ?
यो वडामा २०५४ सालदेखि नै नेकपा एमालेले विजयी हासिल गर्दै आएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि हामीले विजयी हासिल गर्‍यौँ । यो बीचमा हामीले यो वडाको मुहान फेर्नका लागि केही राम्रा कुराहरुको सुरुवात् गरेका छौँ । यद्यपि ती पर्याप्त भने छैनन् । बिजौरी हाडिमे खरखरे छिल्लीकोट पर्यटन मार्ग, बिजौरी हुँदै रोल्पा जोड्ने मार्गको कालोपत्रे,एक घर एक धाराको काम समेत हाम्रै पार्टीको नेतृत्वको सरकारको पालामा शुरुवात भएको छ । त्यस्तै छिल्लीकोटमा बिजुली, खानेपानी, त्यहाँको मन्दिरको जिर्णोद्वार,क्रान्ति संग्रहालयको गुरु योजना निर्माण, मिनी चक्रपथ, विभिन्न सिचाई नहर पक्की, ग्वार खोलामा बहुउद्देश्यीय जलाशयको प्रारम्भिक सर्वेक्षण र त्यसलाई विस्तृत सम्भाव्यता अध्ययनको काम अघि बढेको छ । विद्युतीकरण, सडक ट्रयाक खन्ने काम भएका छन् । छिल्लीकोटमा टेलिकम टावरजस्ता धेरै काम भएका छन् । यद्यपि कतिपय कामहरुमा करोडौको बजेट विपक्षीले अनाहकमा विकासमा मुद्दा हालेका कारण केही ढिलाई भएका छन् । अब जनताहरुले त्यस्ता विकास विरोधी तत्वहरु चिन्ने बेला आएको छ । त्यति मात्रै होइन कतिपय प्रदेश सरकारमाफ्त लाखौका योजना विपक्षी पार्टीको सरकार आएपछि कटौति गरिएको छ ।

३. जनतामाझ तपाईका योजनाहरु के कस्ता रहेका छन् ?
हामीले विपन्न समुदायका नागरिकलाई रोगको अवस्था र प्रकृति हेरी उपचारको व्यवस्था गर्ने विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग , वार्षिक एक लाखभन्दा कम आए भएका परिवारलाई खानेपानी र विद्युत जडान निशुल्क व्यवस्थापन , वडामा भोक विरुद्धमा लड्नका लागि भोजन भकारी कार्यक्रमको सुरुवात् गर्ने योजना बनाएका छौ । त्यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि जेष्ठनागरिक,अशक्तलाई निकै अप्ठ्यारो देखिएको छ । सम्बन्धित बैकसंग समन्वय गरेर प्रत्येक टोलसंग समन्वय गरेर टोलमै वितरणको व्यवस्थापन गर्ने योजना बनाएका छौ ।

४. शिक्षा क्षेत्रमा के कस्ता योजना ल्याउनुभएको ?

शिक्षा क्षेत्रको सधारका लागि यहाँ रहेका दुई वटा माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि पहल थाल्नेछौ । त्यति मात्रै होइन सामुदायिक विद्यालयमा कसरी विद्यार्थी आकर्षण गर्न सकिन्छ त्यसका विषयमा विज्ञ टोलीसंग समन्वय गरेर काम गर्ने योजना बनाएका छौ । विपन्न,दलित, जनजाति समुदायबाट उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई थप सहयोग गनर्नेछौ । कम्तिमा यस वडामा चार ठाउँमा शिशु कक्षा सञ्चालनको व्यवस्थ ागर्नेछौ । प्राविधिक शिक्षा पठनपाठनको व्यवस्थाका लागि पहल गर्नेछौ ।

५. जेष्ठ नागरिकहरुको सवालमा के कस्ता योजना बनाउनुभएको छ ?
जेष्ठ नागरिकहरुका लागि यस वडामा कम्तिमा तीन ठाउँमा जेष्ठ नागरिक दिवा सेवा सञ्चालनमा ल्याउने,बैकको प्राविधिक सहयोग र टोल विकास संस्थाको समन्वयमा घर घरमै सामाजिक सुरक्षा भत्ताको प्रबन्ध,वर्षको दुई दिन निशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्छौ ।

६. पर्यटन आकर्षण गर्ने के कस्तो योजना रहेको छ ?
हाम्रो वडालाई प्रकृतिले हिरा दिएको छ । यस वडामा कुनै समयको मध्य दाङको राजधानी छिल्लीकोटको विषयमा अझै उत्खनन भएको छैन । पुरातत्व विभागसंग समन्वय गरेर काम गर्नेछौ । छिल्लीकोटमा साहसी खेल जीप लाइन बनाइदैछ । त्यसका लागि हाम्रोतर्फबाट सकारात्मक समन्वय,सहयोग गर्छौ । त्यति मात्रै होइन स्यालापानीमा रहेको नेपालकै एक मात्र गिद्ध संरक्षित वनको संरक्षण,तेस्रो मुलुकबाट आउने पर्यटकहरुको बासस्थानको व्यवस्था,क्रान्ति संग्रहालय गुरुयोजना कार्यान्वयन अघि बढाउँछौ ।

७. लक्षित समुदायहरुका लागि केकस्ता योजना बनाउनुभएको छ ?
महिलाहरुका लागि वन उद्यमसंग जोड्ने, हाम्रा पुख्र्यौली पेशाहरुको लागि प्रोत्साहन गर्ने योजना रहेको छ ।

८. कृषि क्षेत्रमा के कस्ता योजना रहेका छन् ?
यो वडामा फलफूल जोन वडा र बाख्रा पकेट क्षेत्रकारुपमा अघि बढाउनेछौ । त्यति मात्रै होइन दुग्ध किसानहरुका लागि दानामा विशेष सहुलियतका कार्यक्रम अघि बढाउनेछौ। प्रत्येक किसानका घरमा कम्तिमा पचास वटा डाले घाँस,नेपियर,सुपरनेपियर जस्ता भुँइ घाँस रोप्ने, सामुदायिक वनसंगको समन्वयमा किसान र वनका बीचमा डाले र भूँइ घाँस रोप्ने र त्यो प्रयोगबापत किसानले तिनुपर्ने रकम वडाका तर्फबाट भुक्तानीको व्यवस्था गर्नेछौ । पशुपालन,मौरीपालन र मस्त्यपालनका लागि विशेष पहल थाल्नेछौ ।

९. स्वास्थ्य क्षेत्रमा के कस्ता योजना रहेका छन् ?
तोप्पापानी स्वास्थ्य केन्द्रमा विए एमएस डक्टरको व्यवस्था, त्यसो भएन भने पन्ध्र दिनमा एक दिन विशेषज्ञ डक्टरबाट सेवा प्रदान, सक्राममा हेल्थ हट, प्रत्येक वर्षमा दुई पल्ट वडामा निशुल्क विशेषज्ञ डक्टरसहितको स्वास्थ्य शिविर, मधुमेह, मृगौलाको निःशुल्क परीक्षणको व्यवस्था गर्छौ ।

१०. अन्य के कस्ता योजा ल्याउनुभएको छ ?
हामीले रात्रीकालीन अवस्थामा सुरक्षा अवस्था थप सहयोग पुगोस् भन्नका लागि सडक बत्तीको व्यवस्था गर्छौ । जस्तो कि हाडिमे,स्थानगाउँ,बाँसगढी,पकर्रे,सक्राम,कुटिचौर,झारीभर्ने,श्रीचौरलगायतका क्षेत्रमा सडक बत्ती विस्तार गर्ने, प्रत्येक टोलमा उज्यालो पु¥याउने योजना रहेका छन् । त्यति मात्रै होइन हामीले जित्यौ भने वडामा केही नागरिक भोकै बस्नुपर्ने छैन । हामीले कम्तिमा एक सय मुरी अन्न वडामै भण्डारण गरेर राख्ने छौ । ७० मुरी धान,२० मुरी गहुँ, दश मुरी जौ,पाँच मुरी कोदो र पाँच मुरी मकै राख्छौ । जो विपन्न समुदायका व्यक्तिहरु हुनुहुन्छ टोल विकास संस्थाको सिफारिसमा एक पटकमा कम्तिमा एक महिनाका लागि खान पुग्ने अन्नको व्यवस्था गर्छौ । त्यसलाई हामीले भोक भकारी कार्यक्रममाफ्त सञ्चालन गर्छौ ।

११. तपाईहरुले जित्ने आधारहरु के के हुन् ?
यस वडामा हाम्रो पार्टीको नेतृत्वमा धेरै राम्रा कामको शुरुवात भएका छन् । जस्तो कि बिजौरी,हाडिमे,हुँदै स्यालापानी छिल्लीकोट पर्यटन मार्ग कालोपत्रे,छिल्लीकोट,सक्राममा टेलिकम टावर,प्रत्येक टोलमा सडक,बिजुली, एक घर एक धारा(हाम्रै पार्टीको सरकार नेतृत्वमा बेलझुण्डी खानेपानीमा करोडौको बजेटमाफ्त काम भइरहेको छ),क्रान्ति संग्रहालयको विस्तृत सम्भाव्यता अध्ययन, विभिन्न सडक ट्रयाकका लागि वातावरणीय प्रभाव मूल्यांकन,किसानहरुलाई बिउँ, तरकारी खेतीका लागि टनेलको व्यवस्था, बजार क्षेत्रमा सडक सोलारबत्तीको व्यवस्था, बिजौरी हुँदै रोल्पा सडक सञ्चालनमा हाम्रो वडामा बाह्रै महिना सञ्चालनमा संरचना निर्माण यावत् धेरै राम्रा काम भएका छन् ।केही काम अपूरा छन् ती काम पूरा गर्नका लागि हाम्रो टीमको उम्मेद्वारी रहेको छ । जित्ने आधार यिनै हुन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस