चुनावी सरगर्मी बढिसकेको छ । राजनीतिक दलहरुले चुनावी अभियानलाई तिव्र बनाइसकेका छन । उम्मेदवारहरु मतदाताका घर घरमा पुगेका छन । मतदाताले पनि उम्मेदवारसँग विभिन्न माग राख्दै आफ्ना समस्याप्रति जिम्मेवार बन्ने उम्मेदवारहरुलाई मत दिने बताइरहदा घर दैलोमा पुगिसक्नु भएका घोराही उपमहानगरपालिका मेयर पदका उम्मेदवार नरुलाल चौधरीसँग युगबोधकर्मी जे.एन.सागरले गर्नुभएको कुराकानीको सारसक्षेप यहाँ प्रस्तुत गरिएको छ । सम्पादक ।

चुनावी तयारी कस्तो छ ?
मतदान गर्ने दिन नजिकीदैछ । हाम्रो पार्टी नेकपा एमाले पनि उम्मेदवारहरुलाई लिएर जनताको माझ पुगेको छ । खासगरी पार्टीका एजेण्डालाई जनतामाझ पुर्‍याउने र जनताका सुझावसहित मत माग्ने काममा हामी यति व्यस्त छौं । प्रचार प्रसारका विभिन्न विधि अपनाइएको छ । पहिलो त प्रत्यक्षरुपमै मतदातालाई घरमै पुगेर भेट्ने काम जारी छ । त्यस्तै व्यक्तिगत भेटघाटलाई पनि तिव्र बनाएका छौं । जनसभालगायतका प्रचारका काममा हामी लागेका छौं । किनभने गठवन्धन नाम दिएर जसरी जनतालाई झुक्याउने काम भइरहेको छ । यस विषयमा आम मतदातालाई सचेत गराउने काम यति बेला महत्वपूर्ण छ । जस्तो कि समानुपातिक समावेसीताको नारा लगाउने गठवन्धनले घोराहीमै हेरौं न नेतालाई पद दिनकै लागि घोराहीको न प्रमुखमा महिला दिए न त उपप्रमुखमा । पदका लागि जे पनि गर्ने गठवन्धन जनताका लागि हितकर छैन भन्ने कुरा हामीले मतदातालाई सचेत गराउने काम गरिरहेका छौं ।

के भन्छन त मतदाताले ?
जनताले नेकपा एमालेलाई नेतृत्व दिदा विकासको अनुभुति गर्न पाएको अनुभव सुनाउनुहुन्छ । हामीले भनेको होइन जनताले महसुस गरेका थुप्रै कामबारे जनता सन्तुष्ट हुनुहुन्छ । तर यो अझै धेरै विकास चाहियो भन्नु भएको छ । घोराहीमा बाटाघाटा राम्रै बनेका छन । ताल तलैयाहरु बनेका छन । शैक्षिक गुणस्तर सुधार भएका छन । स्वास्थ्य सुधारका लागि १९ वटै वडामा स्वास्थ्य केन्द्र पु¥याउँदा खुशी व्यक्त गर्नुभएको छ । अन्यत्र फोहोर कसरी व्यवस्थापन गरम भन्ने तनाव छ । हामीले फोहरलाई मोहरमा बदल्दा जनताले खुशी व्यक्त गर्नुभएको छ । फोहरबाट ग्याँस निकालेका छौं । मल उत्पादन गरेका छौं । नगल्ने फोहर जनताबाट किनेर बिक्री गरिरहेका छौं । अझ जनताको घरमा ग्याँस वितरणको तयारी भइरहेको देख्दा जनता खुशी नहुने कुरै छैन । त्यसो भएर घोराहीको नेतृत्व दोहोरिएर आउनुपर्छ भन्ने जनताको मागअनुसार हामी फेरि जनतामाझ पुगेका छौ । उहाँहरुले फेरि अनुमोदन गराएर पठाउने थप विकासमा लाग्नुस भन्नु भएको छ ।

जनताले दोहोरिन भने कि आफै दोहोरिन मन लाग्यो ?
नेतृत्व दोहोरिने कुरा व्यक्तिगत रहरले हुँदैन । जनताको विकासको आकांक्षालाई को आउँदा छिटो, राम्रो गरी सम्वोधन हुन्छ भन्ने कुराले निर्धारण गर्छ । हामीले पाँच वर्ष नेतृत्व गर्दा जति काम भए । नेतृत्वले गरे हुँदोरहेछ भन्ने जनताले महसुस गर्नुभएको छ । गर्दा गर्दै पनि केही राम्रा कामहरु अधुरा छन । त्यसलाई पुरा गर्नुपर्नेछ । अर्को कुरा राम्रो काम गर्नेलाई पार्टीले र जनताले पनि फेरि अवसर दिनुपर्छ भन्ने चाहना रह्यो । अर्को कुरा पाँच वर्षे अनुभवले धेरै सिकाएको छ । हामीले विकासका आधारहरु तयार गरेका छौं । कानुन निर्माण गरेका छौं । घोराहीका कुना कुनामा पुगेर त्यहाँको समस्या बुझेका छौं । त्यसो भएर छोटो समयमा धेरै उपलव्धि आउने गरी काम गर्न सकिने भएर नेतृत्वलाई दोहोर्याउन लागेको हो । यो जनताको चाहना हो र पार्टीले पनि जनताको चाहना भावनालाई बुझेर नेतत्व दोहोरयाउन लागेको हो ।

अव घोराहीमा के काम गर्नुहुन्छ त ?
समृद्ध घोराही र सुखी जनता बनाउने हो । त्यसका लागि आर्थिक विकासमा जोड दिन्छौं । हरेक नागरिकहरुलाई सीप सिकाउने र उसलाई रोजगारमा जोड्ने योजना छ । निर्माण भएका सडक, बाटाहरुलाई स्तरोन्नति गर्ने योजना छ । घोराहीमा जनघनत्व बढेको छ । त्यसोभएर तुलसीपुर चौराहमा स्काइ व्रिज निर्माण गर्ने योजना छ । डिपिआर तयार भइसकेको छ । त्यसका लागि माटो परिक्षण पनि गरिसकिएको छ । तयारी पूरा भइसकेको छ । हामी निर्वाचित भएलगत्तै त्यो काम सुरु हुन्छ । विद्यालयमा दरवन्दी मिलान गरिएको छ । अझै विषयगत शिक्षकको व्यवस्थापन थालिएको छ । शैक्षिक क्षेत्रमा अरु सुधारको काम गर्न बाँकी छ । शैक्षिक गुणस्तर राम्रो हुनु भनेको असल जनशक्ति उत्पादन गर्नु हो । त्यसैगरी कृषियोग्य जमिन खण्डीकरणलाई रोकेका छौं । व्यवस्थित वस्ती विकासका लागि काम गर्नुपर्नेछ । जथाभावी घर घडेरी बनाउन नदिन मापदण्ड तयार गरेका छौं । खाद्यवस्तुमा घोराहीलाई आत्मनिर्भर बनाउने गरी कृषि उत्पादनमा जोड दिने, कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण गरिरहेका छौं । कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, माहुरी पालन, भैसीपालनजस्ता कृषि उद्यमका लागि विशेष कार्यक्रम ल्याएर किसानलाई आत्मनिर्भर बनाउने तयारी छ । खानेपानी नपुगेको ठाउँमा धारा पुर्‍याउनुछ । सिंचाइका लागि सकेसम्म ताल निर्माण गर्ने, सम्भव नभएको ठाउँमा डिप बोरिङ गरेर सिंचाई व्यवस्थापन गर्छौ । आगामी कार्यक्रम भनेको आर्थिक सम्वृद्धि,पूर्वाधार निर्माण, शैक्षिक सुधार र स्वास्य सेवा सुधारलाई प्राथमिकतामा राखेका छौं । त्यस्तै पर्यटनमा हामीसँग भएका धारपानी, अम्वीकेश्वरी, मन्ठोरिया, बाह्रकुने, चौघेराजस्ता धार्मिक पर्यटकिय स्थलको विकास, तालतलैया तथा विभिन्न कला, सँस्कृति, भेषभुषाको संरक्षण गर्ने योजना छ । समग्रमा योजनावद्ध विकास हाम्रो प्राथमिकता हो ।

यी काम गर्न चुनाव जित्नु पर्ला, गठवन्धन ठूलै चुनौति बन्यो नि ?
चुनौति होइन सहज भएको छ । एमाले बलियो छ भन्ने कुरा गठवन्धनले नै प्रमाणित गरेको छ । गठवन्धनमा रहेका काँग्रेस, माओवादीलगायतका दलहरु कम्जोर भएरै गठवन्धनमा जोडिएका हुन । बलियो भइदिएको भए एक्लै लड्थे । कमजोरसँग लड्न एमालेलाई के को चूनौति ? अर्को कुरा अहिलेका दलहरु सबै जनताबाट परिक्षण भएका छन । को सत्तामा पुग्दा काम भयो भन्ने कुरा त जनतालाई राम्ररी थाहा छ । एमालेले गरेको काम, उसका एजेण्डा, राष्ट्रियताका लागि एमालेले लिएको अडान सबै हेर्दा अवको बिकल्प एमालेमात्रै हो । जनताको समर्थन एमालेलाई नै छ । एमालेले जवरजस्ती गठवन्धनका दलहरुलाई कमजोर बनाएको होइन । उहाँहरुका नीति, कार्यक्रम, काम र व्यवहारले खुम्चीदै खुम्चीदै जानुभएको हो । जनताको वीचमा खुम्चीएका दलसँग हामीलाई चुनौति छैन । उहाँहरु जनताबाट त टाढिसक्नु भएको छ अव आफ्नै कार्यकर्ता, शुभेच्छुकसँग पनि यसपालिदेखि टाढिदै हुनुहुन्छ । कार्यकर्ता, शुभेच्छुकले गठवन्धन चाहनु भएको छैन । तर नेताहरु जसरी पनि पद हत्याउनका लागि नीति, विचार, व्यवहार केही नमिल्नेहरुसँग घाटी जोड्नु भएको छ । यसले जनतामात्रै होइन आफ्नै कार्यकर्ताबाट गठवन्धनलाई टाढा बढाउँदैछ । त्यसो भएर गठवन्धनको असर हामीलाई पर्दैन ।

जित्ने आधार गठवन्धनभित्रको समस्या हो कि अरु केही छन् ?
हामीले जित्ने पहिलो आधार जनताकै बलले हो । मतले हो । जनताले एमाले रोज्नु भएको छ । एमालेले गरेका विकास निर्माणको कामले जनतालाई खुशी बनाएको छ । एमाले सत्तामा हुँदा राम्रा योजना ल्याएको छ । भुमिहिन, सुकुम्वासीलाई जग्गाधनी बनाउने कार्यक्रम ल्याएको छ । ज्येष्ठ नागरिक, एकल महिला, अपाङगता भएका व्यक्तिहरुका लागि सामाजिक सुरक्षा भत्ता ल्याएकोमात्रै होइन समयअनुसार भत्ताको वृद्धि गरिरहेको छ । घोराहीमा हामीले गरेको विकास, समन्वय, राजनीतिक आग्रहपूर्वाग्रहरहित काम, सबैको सम्मान इत्यादिले एमालेका उम्मेदवारले जित्छन । जनताको मत पाउँछन । म आम घोराहीवासीहरुमा आग्रह गर्न चाहन्छु कि बालमैत्री उपमहानगर, सडक मानवमुक्त शहर, फोहोरलाई मोहर, जमिनको खण्डीकरण रोक्नेलगायत दर्जनौं विकास निर्माणका काम गरेका छौं । फेरि एक पटक यो उपमहानगरको विकासलाई माथि उठाउँन सबै विचार, सबै वर्ग, समुदाय, क्षेत्र, लिङगका आम मतदाताहरुलाई एमाले उम्मेदवारलाई जिताउन अपील गर्न चाहन्छु ।

साभारः युगबोध दैनिक

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस