चुनावी माहोल के छ ?

घरदैलो कार्यक्रम सकिएको छ । हामी सबै मतदाताको घेरमा पुगेका छौं । घरमा पुगेर पनि भेट नभएका मतदातासँग फोनमा कुराकानी भएको छ । मतदाताको सुझाव लिने मत माग्ने क्रम अहिले पनि जारी छ । हामी निरन्तर मतदातासँगै छौं । शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षालगायत सचेत गराउने कार्यक्रम भइरहेको छ । आम मतदाताले मतदान गर्न उत्साह प्रकट गरिरहनु भएको छ । मलाई सजिलो के भएको छ भने यसअघि वडा सदस्य भएर पाँच वर्ष जनताको सुखदुखमा म संगै छु । त्यसो भएर केशव गिरी यस्तो उस्तो भनेर परिचय गराइहनुपरेको छैन । बोलीले भन्दा पनि व्यवहार चिनिसक्नु भएकाले मतदातालाई यसपाली वडाको अध्यक्षकोरुपमा आउँदैछु भन्ने कुरा मात्रै जानकारी गराईरहेको छु । जनताले मेरा प्रतिष्पर्धी र मलाई राम्रो सँग चिन्नु भएको छ ।

तपाईलाई नै मत दिने आधार के हो त ?

मैले माथि पनि भने वडा सदस्य भएर पाँच वर्ष मैले जनताको सेवा गरेको छु । रात दिन नभनी जनताको सुखदुखमा साथ दिएको छु । स्थानीय सरकार भनेको जनताको घरदैलोको सरकार हो । त्यो जनताले खोजेकै बेला भेटिनुपर्छ । आदेश पर्खिने, समय मिलाउने भन्ने हुदैन । जनतालाई आवस्यक पर्दा म जतिवेला पनि हाजिर भएको छु । जनताको सेवक भएर काम गरेको छु र अव वडाअध्यक्षको रुपमा पनि म हिजो जस्तै गरी जनताको नोकर भएरै काम गर्नेछु । त्यो कारणले पनि मतदान गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । मतदाताहरुले त्यो महसुस गर्नु भएको पनि छ । अर्को कुरा स्थानीय सरकारमा रहने मान्छे सरल, सहज हुनुपर्छ । शासक जस्तो होइन । त्यो सरलता, सहजता म सँग छ भन्ने मेरो दावी छ । समस्या पर्दा जनताले सहजरुपमा भन्न सक्ने, सहजरुपमा अह्राउन सक्ने मान्छे हुँ म । त्यसो त म जनप्रतिनिधि नहुँदा सामाजिक संस्थामा नेतृत्व गर्दा पनि कतै लोभ गरिन । आर्थिकरुपले म कमजोर नै छु । तर मैले वडा सदस्य हुँदाको लिएको तलव भत्ताले शवदाह घर निर्माणमा लगाएको छु । अहिलेसम्म निस्कलङक भएर जन सेवामा लागेको छु । पाँच वर्षसम्म वडा सदस्य भएर मेरो क्षमता, सीपलाई जनताको सेवामा लगाए । अव पाँच वर्षे सरकार सञ्चालनको अनुभवलाई वडाको नेतृत्वमा बसेर सदुपयोग गर्नेछु । त्यसैले मैले मत नपाउने कुनै कारण नै छैन ।

के के काम गर्नुहुन्छ त ?

वडा नं. १३ घोराही बजारको नजिक पर्ने भएकाले कृषि र पर्यटनलाई जोड दिएर काम गर्नेछौं । जनताको जिविका उकास्न कृषि र पर्यटन हाम्रा लागि सहज क्षेत्र हुन । त्यसका कृषिमा लगानी, सीप दक्षता वृद्धि गर्ने काम हामीले गर्नेछौं । उत्पादित वस्तु बिक्रीका लागि बजार नजिक भएकाले त्यो समस्या पनि छैन । त्यस्तै धार्मिक पर्यटनका लागि हामीसँग बाह्रकुने बराहक्षेत्र छ । त्यसको संरक्षण प्रवद्र्धन गरेर अझै सुन्दर र व्यवस्थित गर्ने, सिंचाईका लागि ड्याम निर्माण गर्ने, यसअघि पनि मेरै नेतृत्वमा ड्याम निर्माण गरेर सिंचाईको व्यवस्था गरिएको छ । अझै त्यस्ता योजनालाई वढावा दिने, खानेपानी व्यवस्थापन गर्ने, शुद्ध खानेपानीका लागि थप योजना निर्माण गर्ने, १३ नं. वडामा एक हजार २ सय सुकुम्वासी हुनुहुन्छ । उहाँहरुलाई पुर्जा उपलव्ध गराउने काम गर्नेछौं । हामीले गर्ने विकास जनताको दैनिक जीवनसँग जोडिनुपर्छ । यहाँबाट धेरैजसो रोजगारीका लागि घोराही बजार जानुहुन्छ । त्यसो भएर उहाँहरुलाई सीपयुक्त बनाउने मेरो योजना छ । दक्ष जनशक्ति निर्माण गर्न सकियो भने घोराही बजारमा गएर मजदुरी गर्नुपर्दा दक्ष जनशक्तिले मात्रै धेरै पारिश्रमिक पाउछ र उसको जीवनस्तरमा वृद्धि हुन्छ । त्यस्तै पहाडी क्षेत्रमा वर्थिङ सेन्टर सञ्चालन गर्ने, ५ कट्ठा भन्दा माथि सामुहिक खेती गर्नेलाई वडाको तर्फबाट विउ, मल उपलव्ध गराउने । त्यस्तै शैक्षिक गुणस्तर कायम गर्नेछौं । म सदस्य निर्वाचित हुँदा कुनै सडक कालोपत्रे थिएनन । हाम्रो पहलमा धेरै सडक कालोपत्रे भएका छन र संघ, प्रदेश सरकारसँग समन्वय गरेर अझै केही काम गर्न बाँकी छन । पाइपलाइनमा छन । निर्वाचन लगत्तै ति कामको सुरुवात गर्नेछौं ।

मतदातालाई केही अपील छ ?

राजनीति मुल नीति हो । देश विकासको मेरुदण्ड हो । तर राजनीति विकृत बन्दै गएको छ । त्यसो भएर राजनीतिका विकृत पक्षलाई हटाउन युवाको सहभागिता सरकार सञ्चालनमा रहन जरुरी छ । राजनीतिमा युवा आकर्षण पनि गर्नुछ । युवालाई समाज सुधार र जनताको सेवामा लगाउनुपर्नेछ । त्यसो भएर युवालाई नेतृत्वमा पुरयाउन जरुरी छ । त्यसैले यो वडाको विकास, समाज सुधार, जनताको जीवनस्तर वृद्धिजस्ता थुप्रै काम गर्न म वडाको नेतृत्वको दौडमा छु । जसरी पाँच वर्ष अघि मलाई विश्वास गर्नुभयो र त्यो विश्वासलाई मैले मर्न दिएन । अव वडाको नेतृत्वका लागि तपाईको विश्वास, मत र जिम्मेवारीको आवस्यकता छ । तपाईहरुले मलाई त्यो जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास मलाई पनि छ । जनताको विश्वासलाई सहज सेवा, वडाको विकास र जनताको सुखदुखमा सरकारसँगै रहेको अनुभूति गराउने प्रतिवद्धता गर्न चाहन्छु ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस