भेषराज खत्री
बंगलाचुली गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार

स्वागत छ यहाँलाई ।
धन्यवाद ।

चुनावी प्रचारप्रसार र ब्यस्तता कस्तो छ ?
चुनावी प्रचारप्रसार निकै राम्रो तरिकाले भइरहेको छ । जनताको उत्साहजनक साथ र सहयोग रहेको छ । अहिले पनि हामी चुनावी अभियानमै व्यस्त छौँ । यसअघि यहाँ नेकपा माओवादी केन्द्रको सरकार हुँदा जनताले पाएको सास्तिको कारण जनताले माओवादीलाई दोहोर्‍याउन चाहँदैनन् भने अर्काेतिर गठबन्धनको मत धेरै बदर हुने हुनाले पनि हाम्रो अभियान प्रभावकारी बन्दै अघि बढेको छ ।

बंगलाचुली गाउँपालिकाको अध्यक्ष पदका लागि तपाईको उम्मेद्वारी किन ?
दाङ जिल्लाको विकट पहाडी जिल्ला भएकाले त्यहाँका जनताका आवश्यकता र समस्या धेरै छन् । आवश्यकता र प्राथमिकताका साथ ति सबै समस्यालाई सम्बोधन गर्दै हामी अगाडि बढ्छौँ । पालिकामा यस अघि माओवादीको सरकार हुँदा केन्द्रबाट आउने करोडौँको रमक हिनामिना भएको देखिन्छ भने भ्रष्ट्राचार ब्याप्त छ । पहिलो कुरा हामीले भ्रष्ट्राचारलाई निर्मुल पार्छौ‌ । विकास निर्माणका काम अन्तरगत गाउँमा कलेज नभएकाले कलेज स्थापना गर्छौ । अहिले पनि सहज यातायातको व्यवस्था नभएकाले विरामीलाई स्टेचरमा बोकेर गाउँगाउँबाट अस्पताल ल्याउनु पर्ने बाध्यता छ । सहज रुपमा यातायात सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो प्रमुख काम अन्तरगत पर्छ भने कृषिको प्रचुर सम्भावना बोकेको बंगलाचुलीको कृषिलाई आधुनिकीकरण गर्दै त्यहाँको कृषिलाई व्यावसायिक बनाउँदै बजारीकरणको व्यवस्थापनलाई सहज बनाउने हाम्रो एजेण्डा छ । अव्यवस्थित तरिकाले भैरहेको चुनढुंगा उत्खन्नलाई ब्यवस्थित बनाउँदै वैकल्पिक बाटो संचालन गर्ने योजना छ । मुआब्जा वितरण गर्ने योजना छ । यी कुराहरुलाई व्यवस्थित बनाउँदै कार्यान्वयनमा लैजान नेकपा एमालेको नेतृत्व आउन जरुरी छ ।

माओवादी केन्द्रले नेतृत्व गरेको वंगलाचुली गाउँपालिकाको पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
माओवादी केन्द्रले नेतृत्व गरेको वंगलाचुली गाउँपालिकाको पाँच वर्षे कार्यकाललाई मैले असफल भएको रुपमा समिक्षा गरेको छु । केन्द्रबाट आउने ठुला योजना र बजेटको सही सदुपयोग भएको मैले महसुस गर्न सकेन । आफ्ना नाता र निकटका मान्छेलाई फाइदा पुर्‍याउने बाहेक जनताको अवस्था सुधार गर्ने खालको काम त्यहाँका जनप्रतिनिधिले पाँच वर्षसम्म गर्न सकेनन् । अहिले मैले समीक्षा गर्ने भन्दा पनि ५ वर्षे कार्यकाललाई जनताले समीक्षा गर्नेबेला भएको छ । ५ वर्षसम्मको भएको बेथितिलाई अन्त्य गर्न जनताले सूर्यमा भोट हाल्नेबेला अहिले आएको छ ।

गठबन्धन बलियो बनेर प्रतिस्पर्धामा हुँदा नेकपा एमालेले यहाँ जित्ने आधारहरु के कस्ता छन् ?
नेकपा एमालेप्रति जनताको आकर्षण राम्रो भएकै कारण बंगलाचुलीमा यसपाली जनताले एमालेको पक्षमा मत दिनेमा हामी ढुक्क छौँ । नेकपा एमालेले केन्द्रबाटै राम्रो काम गर्नु भनेको बंगलाचुलीमा जित्ने आधार तय गर्नु हो । राष्ट्रियता र जनजीविकाको सवालको पक्षमा एक्दमै महत्वपूर्ण भुमिका निर्वाह गरेकै कारण एमालेले जित्छ ।

१, २, ३ भनेर भन्नुपर्दा नमुना योग्य त्यस्ता कामका योजना के छन् ?
पहिलो नम्बरमा कलेज स्थापना गर्ने योजना छ । दोस्रोमा कृषिलाई प्राथमिकता दिएर बजारलाई व्यवस्थित र बजारीकरण  गर्छौ । रोजगारी प्रवद्र्धन गर्छौ । सर्वदलिय सर्वपक्षीय सल्लाह सुझाव लिएर हामीले गर्ने विकास निर्माणको योजना र एजेण्डा बनाएर काम गर्छौ‌ं ।

पाँच वर्षमा बंगलाचुलीका जनताको जीवनस्तर कस्तो परिवर्तन आयो र अब यहाँको जित पछिको पाँच वर्षमा जनताको जीवन स्तर कस्तो हुन्छ ?
जिवनस्तर पाँच वर्ष पहिले जस्तो थियो, अहिले पनि त्यस्तै छ । जनताको जिवन स्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरी खासै कुनै काम हुन सकेको देखिदैन । अहिले पनि खाडी मुलुक जाने र भातरका विभिन्न ठाउँमा जानेहरुको क्रम रोखिएको छैन् । त्यसैले भोलि हाम्रो जित पछि हामीले बंगलाचुलीमा परिवर्तन ल्याउने छौँ । जनताले चाहेको विकास गर्दै जनताको मन जित्छौँ ।

अन्त्यमा त्यस्तो केही छ ?
अहिले मदनभण्डारी राजमार्ग पिच गर्ने नाममा नामको कालोपत्रे बाहेक राम्रो काम हुन नसक्दा जनताले निकै सास्ती पाएका छन् । त्यसको समाधानको कामलाई प्रमुखताका साथ हेरेका छौँ । टिप्पर चल्नका लागि वैकल्पिक मार्ग सञ्चालन अहिले त्यहाँको आवश्यकता हो । अर्कोतिर गाउँपालिकामा रहेका नागरिकहरुको गरिवी पनि हटाउँदै समृद्ध नेपाल र सुखी नेपालीको धारणा अनुसार काम गर्नेछु ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस