दाङ, ७ असोज । योजना तर्जुमाका लागि तथ्याङ्क महत्वपूर्ण आधार भएको घोराहीमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । स्थानीय तहको तथ्याङ्क सुधार कार्यक्रम अन्तर्गत दाङको घोराहीमा भएको तथ्याङ्कीय साक्षरता तालिम समापनका अवसरमा बोल्दै स्थानीय तहका नेतृत्वहरुले योजना तर्जुमाका क्रममा तथ्याङ्कलाई आधार बनाउन सके लक्ष्यसम्म पुग्न सकिने बताएका हुन् ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले तथ्याङ्कलाई आधार बनाएर योजना तर्जुमा गर्न नसकेको बताउँदै लक्ष्य नजिक पुग्नका लागि तथ्याङ्कलाई आधार बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीले आफूहरुसँग तथ्याङ्क भएको र सोही तथ्याङ्कलाई आधार बनाएर अगाडि बढिने बताउनुभयो । ‘डाटा छ सो अनुरुप योजना बनाउँदै अघि बढ्छौँ’ उहाँले भन्नुभयो ‘तथ्याङ्कलाई व्यवस्थित गरी योजना बनाउने हामी गर्छौ, डाटाहरु आधिरिक निकायले उपलब्ध उपलब्ध गराउनु पर्छ ।’ त्यसैगरी घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीले स्थानीय तहका लागि आवश्यक थप तथ्याङ्क सङ्कलनमा उपमहानगरले काम गरिरहेको बताउनुभयो ।सैनामैना नगरपालिकाको उपप्रमुख विना रानाले तथ्याङ्कको महत्व सबैलाई थाहा हुँदाहुँदै पनि यसको आधारमा अघि बढ्न कसैको चासो नरहेको धारणा राख्नुभयो । ‘बेरोजगार कति छन् त्यसको तथ्याङ्क छैन जसले गर्दा आवश्यकता अनुसारका योजनाहरु दिन सकेका छैनौँ’ उहाँले भन्नुभयो ‘तथ्याङ्क विनाका योजनाहरु अघि सार्दा हामी सफल हुन सकिरहेका छैनौँ ।’

दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले जनसङ्ख्या लगायतका केही तथ्याङ्कहरु भए पनि स्थानीय तहका लागि अति आवश्यक तथ्याङ्कहरु लिन नसकिएको बताउनुभयो । ‘वैदेशिक रोजगारीमा गएकाहरुको तथ्याङ्क नै छैन’ भन्दै उहाँले युवा तथा वैदेशिक रोजगारी न्यून गर्नेखालका ठोस योजना ल्याउन गाह्रो भएको धारणा राख्नुभयो ।तिनाउँ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तथ्याङ्क सङ्कलन गर्ने काम थुप्र्रै भए पनि त्यसको उपयोग गर्न नसकेको बताउनुभयो । ‘तथ्याङ्कलाई हेँला गरिन्छ, भौतिक पूर्वाधारलाई महत्व दिइन्छ’ उहाँले थप्नुभयो ‘त्यसैले तथ्याङ्कका आधारमा योजना तर्जुमा हुन सकेनन्, तथ्याङ्क आए पनि लक्ष्य हासिल हुन नसक्नुका कारणबारे कसैले जान्न चाहेनौँ ।’ विद्यालय भर्ना भएका बालबालिका १० कक्षासम्म पुग्दा विद्यालय छाड्ने संख्या अत्यधिक हुँदा पनि त्यसलाई कम गर्नेखालका योजना आउन नसक्नु दुर्भाग्य भएको उहाँको ठहर थियो ।

त्यस्तै बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले योजना तर्जुमा गर्दा तथ्याङ्क भन्दा पनि अन्दाजी रुपमा आयोजना छनौट हुने गरेको बताउनुभयो । तथ्याङ्कको महत्व नबुझ्नाले योजना निर्माणमा तथ्याङ्कलाई आधार नबनाइएको उहाँको भनाइ थियो । ‘तथ्याङ्क व्यवस्थापनमा कमजोर छौँ त्यसैले पनि अति आवश्यक र महत्वपूर्ण विषय हुँदा हुँदै पनि यो ओझेलमा परेको छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले तथ्याङ्कले त्यहाँको अवस्थाबारे अवगत गराउने भएकाले यो अति नै महत्वपूर्ण भएको विचार राख्नुभयो । यो व्यक्ति र सरकारका लागि उत्तिकै आवश्यक भएको भन्दै डा. रेग्मीले गरिबी, बेरोजगारी लगायत सम्पूर्ण अवस्थाको जानकारीका लागि तथ्याङ्क नै आवश्यक हुने बताउनुभयो । ‘लक्ष्यमा पुगे नपुगेको र लक्ष्य निर्धारण गर्न यसले सहयोग पु¥याउँछ’ भन्दै उहाँले भन्नुभयो ‘सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक हरेक अवस्था यसबाट झल्किन्छ ।’

दाङ, पाल्पा र रुपन्देही जिल्लाका ८ स्थानीय तहका २५ जना सहभागी भएको तीन दिने तालिममा नेपालको तथ्याङ्क प्रणाली, तथ्याङ्क सम्बन्धी नीति, तथ्याङ्कीय साक्षरता र डिजिटल साक्षरता, तथ्याङ्कका स्रोत, तथ्याङ्क व्यवस्थापन, तथ्याङ्क व्यवस्थापनमा एक्सेलको प्रयोग, जनसङ्ख्या बृद्धिदर र प्रक्षेपणलगायतका विषयमा विषयमा प्रशिक्षण दिइएको थियो ।केन्द्रीय तथ्याङ्क विभागको आयोजना तथा द एसिया फाउन्डेसन, डेटा फर डेभलपमेन्ट, डेभलपमेन्ट इनिसियटिभ, डेटा इन नेपाल, विकास उद्यमीको सहयोगमा सञ्चालित उक्त तालिमको सहजकर्तामा केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी, तथ्याङ्क निर्देशक राजन सिलवाल, तथ्याङ्क अधिकृत प्रकाश पौडेल, तथ्याङ्क कार्यालय दाङका तुलसीराम पोख्रेल रहनुभएको थियो ।

कार्यक्रममा द एसिया फाउन्डेसनका गोविन्द बस्नेतले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागीका तर्फबाट घोराही उपमहानगरपालिकाका तथ्याङ्क अधिकृत भीम बहादुर चौधरी र शुद्धोधन गाउँपालिका रुपन्देहीकी गंगा गैरेले तालिमले तथ्याङ्कीय जानकारी दिलाउन सफल भएको धारणा राख्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस