दाङ, १९ असोज । दाङमा ठूलो पानी पर्दा मानव वस्ती डुबानमा परेको छ । दसैं मनाउन तयारी गरेको बेला परेको पानीले घरबास डुबानमा परेपछि स्थानीयको विचल्ली भएको छ ।

लमही नगरपालिका वडा नं. ६ स्थित लोटही सोताको पानी बस्तीमा पसेको छ । चुरे क्षेत्रमा मुहान भएको, बजार क्षेत्रको समेत पानी बग्ने लोटही सोताको पानी देउपुरको बस्तीमा पस्दा घरहरु डुबानमा परेका छन् । ११ बर्ष पछिको अन्तरालमा लोटही सोतामा बाढी आएको हो । जसले गर्दा स्थानीयहरु विचल्लीमा परेका छन् ।‘बजारको सबै पानी यही सोतामा आउँछ । जसले गर्दा गाउँ डुबानमा पर्‍यो’ स्थानीय कमला बेल्वासेले भनिन् ‘नगर विकास समितिले पूर्वाधार बनाउँदा सबै यता पानी आउने गरायो । यो सरासर अन्याय हो ।’ बाढीले स्थानीय शेरबहादुर बुढाथोकी, मानबहादुर डाँगी, दामोदर पाण्डे लगायतको घर डुबानमा परेको छ । बजार क्षेत्रको सबै पानी लोटही सोतामा मिसाउने गरिएको छ । जसले गर्दा सोतामा पानीको सतह बढ्दा डुबान र कटानको समस्या बल्झिएको हो ।

देउखुरी क्षेत्रका नदी तटीय क्षेत्रका बस्तीमा डुबान परेको छ । राप्ती नदी र अन्य खहरे खोलामा आएको बाढीले समस्या पारेको छ । डुबानको दीर्घकालीन रुपमा समस्या समाधान गर्न पहल गर्ने वडा अध्यक्ष श्यामनारायण चौधरीले बताए । ‘पानी परिरहेकाले सचेत र सजग हुन जरुरी छ । दीर्घकालीन रुपमा समस्या समाधान गर्न तबटन्धको योजना अघि सार्छौं’ उनले भने, ‘तत्काल समस्या परेकाहरुलाई राहत दिने र पछि यस्तो विपद् आई नपरोस् भन्ने चाहना छ ।’डुबानको समस्या बढेपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित गर्ने काम भएको छ । अझैं केही दिन पानी पर्ने भएकाले सचेत र सजग रहन अपिल गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले सामानहरु सुरक्षित स्थानमा सारेका छन् । यसपालीको दसैं झरीले प्रभावित भएको छ । एक ठाउँबाट अर्काे ठाउँ जान हिँडेकाहरु समेत विचल्ली परेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस