दाङ देउखुरी, ५ असोज । नेकपा एमालेका उम्मेदवार आफ्ना एजेण्डा लिएर मतदाताको घरमा पुगेका छन् । दाङ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेदवार शान्ता चौधरी, प्रदेश सभा सदस्य(१)का उम्मेदवार गंगाराम भट्टराई र प्रदेश सभा सदस्य (२)का उम्मेदवार कुलबहादुर केसी मतदाता भेट्न गाउँ पुग्नु भएको छ ।
गाउँमा पुग्दा मतदाताको रोजाइमा एमालेको उम्मेदवार परेका छन् । जेष्ठ मतदाताको आशिर्वाद र युवा मतदाताको साथ लिएर घर घरमा पुग्ने काम भइरहेको नेकपा एमाले क्षेत्र नं. १ निर्देशक कमिटिका संयोजक रेवतीरमण शर्माले जानकारी दिनुभयो । ‘पार्टीले बनाएको योजनाको आधारमा मतदाता भेटघाट गर्ने काम भइरहेको छ’ उहाँले भन्नुभयो–‘यो अभियान निरन्तर चलिरहन्छ ।’ एमाले सरकारको पालामा प्रदेशको स्थायी राजधानी देउखुरी तोकिनु नै यहाँको विकास र समृद्धिको जग बसाउने काम भएको छ । सडक पूर्वाधार, राप्ती नदीमा पक्कि पुल, हुलाकी सडक, ट्रमा सेन्टर लगायत ठूला आयोजनानै यहाँको विकासको जग बनेका हुन् । अबको एजेण्डा रोजगारी सृजना, शिक्षा, स्वास्थ्य, कृषि, पशु पालन लगायत हुन् ।
एमाले महासचिव शंकर पोख्रेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा राजधानी तोकिनुनै यहाँको विकासको लग बसाल्ने कार्य भएको भन्दै देउखुरीका मतदाताले भोट मार्फत धन्यवाद ज्ञापन गर्ने योजनामा छन् । ‘कसैले गर्न नसक्ने आँट मुख्यमन्त्री शंकर पोख्रेलले गर्नु भयो । हाम्रो देउखुरीमा राजधानी बस्यो’ गढवाको पर्सीया निवासी ध्रुब बुढाथोकीले भन्नुभयो–‘राजधानीका कारण यहाँको मुहार फेरिने निश्चित छ ।’ वर्तमान सरकारले राजधानी कार्यान्वयमा उदासिन छ ।
एमालेको नेतृत्वमा बन्ने सरकारले राजधानीको पूर्ण कार्यान्वयन गर्न सक्ने भएकाले मतदाातको रोजाइएमा एमालेका उम्मेदवार पर्न थालेका हुन् । शनिबार क्षेत्र नं. १ अन्तरगत दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रचारप्रसारको कार्यक्रम भइरहेको छ । वडा कमिटी, टोल कमिटी परिचालित छन् भने उम्मेदवारहरु पनि जनभेटघाटमा व्यस्त छन् ।
यसैगरी लमही नगरपालिका वडा नं. ७ मा वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरी, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली लगायतको उपस्तिथिमा कार्यालयको स्थापना गरिएको हो ।
क्षेत्र नं. १ अन्तरगत लमही नगरपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका वडा नं. १, २, ३ र ५ पर्छन् । यी क्षेत्रमा प्रचारप्रसार व्यापक बन्दै गएको छ ।












