घोराही, ५ कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोख्रेलले देश समृद्ध बनाउन स्पष्ट नीति र सक्षम नेतृत्व आवश्यक रहेको बताउनु भएको छ । मटावा तथा थारु अगुवाहरुसँग शनिवार घोराहीमा गरिएको छलफल कार्यक्रममा बोल्दै पोख्रेलले भिजनसहितको नेतृत्वले नै देशलाई समृद्धितर्फ लैजाने बताउनुभयो ।

‘हिजो व्यवस्था परिवर्तनका लागि सबै दल मिलेर काम गर्नुपर्ने अवस्था थियो । तर अहिले समृद्धि ल्याउनुछ’ महासचिव पोख्रेलले भन्नुभयो–’समृद्ध देश र सुखी नेपालीको सपना मिलीजुली सरकारले सम्भव छैन । बलियो एकल सरकार चाहिन्छ । यो भूमिका खेल्ने नीति र नेतृत्व एमालेसँग छ ।’ एमालेको एजेण्डा देशको विकास र जनतामा समृद्धि ल्याउने भन्दै पोख्रेलले त्यसको नेतृत्व केपी वलीले गर्ने बताउनुभयो ।

‘हामीले समृद्ध राष्ट्र र सुखी नेपालीको एजेण्डा स्पष्टै भनिसकेका छौ र त्यसको नेतृत्व भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकै छौ’ पोख्रेलले भन्नुभयो–’एमाले खुला भएर जनतामा पुगेको छ । बहुमत लिएर देशको नेतृत्व गर्नेछ ।’ एमालेले देशको नेतृत्व गर्दा के भयो भन्ने कुरा घामजस्तै छर्लङ्ग रहेको उल्लेख गर्दै पोख्रेलले काम गर्न सक्नेलाई नै जनताको साथ हुने विश्वास व्यक्त गर्नुभयो । दाङवासीले पनि कसले भूमिका खेल्न सक्छ भन्ने कुरा स्पष्टै बुझिसकेको उल्लेख गर्दै उहाँले जति धेरै विश्वास दाङवासीको हुन्छ त्यतिनै राष्ट्रिय राजनीतिमा भूमिका बढ्ने बताउनुभयो । थारु समुदायमा रहेको सामुहिकता र परिश्रमले दाङ उर्वर बनेको हो महासचिव पोख्रेलले भन्नुभयो ‘त्यो सामुहिकता र परिश्रम अब देश निर्माणमा लगाउनुपर्छ । त्यसको सुरुवात दाङबाटै हुन्छ ।’ उहाँले गरिवी, पछौटेपनलाई हटाउन नेतृत्वले कार्यक्रम ल्याउने स्वयं समुदायले त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । थारु समुदायसँग जोडिएको कृषिलाई आधुनिकीकरण गर्ने, परम्परागत सीपलाई व्यवसायिक गर्ने, शिक्षा, रोजगार र उद्यममा जोडिनेगरी कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । दाङमा मटावाहरुको साझा घर निर्माण, मातृभाषामा शिक्षाका लागि भूमिका खेल्ने पोख्रेलले प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं दाङ इन्चार्ज नरुलाल चौधरीले समुदायको समग्र विकासका लागि नेतृत्व चुन्ने बेलामा ध्यान दिनुपर्ने बताउनुभयो । ‘कसले भूमिका खेल्न सक्छ भन्ने कुराको हेक्का हामी सबैले राख्नुपर्छ’ चौधरीले भन्नुभयो–’राष्ट्रिय व्यक्तित्वलाई स्थापित गर्दा नै दाङ र दाङवासीको हित हुन्छ । यसमा कुनै कन्फ्यूज्ड हुनुहुदैन ।’

घोराही उपमनपा–७ का अगुवा तथा मटावा रामबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मटावाहरु चुरामणी चौधरी, सहदेव चौधरीलगायतले नेतृत्व स्थापित गर्न आफूहरु तयार रहेको र नेतृत्वले पनि थारु समुदायको हितका लागि निरन्तर भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा थारु कल्याणकारीणीसभा दाङका पूर्वअध्यक्ष चेतमान चौधरीले थारु समुदाय, मटावाप्रथाको संरक्षण र विकासका लागि माग राख्दै महासचिव पोख्रेललाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस