दाङ, ८ कार्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेरावन्दी गरिएको बताउनुभएको छ ।

अम्माखोली साँस्कतिक परिवार तुलसीपुर उपमनपा १८ ले आयोजना गरेको भैलो कार्यक्रमको सुरुआत गर्दै पोख्रेलले यस्तो बताउनुभएको हो । गुमेको जमिन समेटेर एमाले नेतृत्वको सरकारले चुच्चे नक्सासहित देशको नक्सा जारी गरेर राष्ट्रहितको काम गर्यो महासचिव पोख्रेलले भन्नुभयो¬– जनता र राष्ट्रहितका काम गर्दा एमालेविरुद्ध गठवन्धन गरिएको छ । यो गठवन्धन राष्ट्रहितमा पनि छैन र यसले जनता र राष्ट्रहितमा काम पनि गर्दैन ।

गठवन्धन स्वार्थहरुको झुण्ड भन्दै पोख्रेलले जनसरोकारका विषयमा गठवन्धन सरकार बेखवर भएर बसेको बताउनुभयो । सत्ता स्वार्थसिद्धीका लागिमात्रै गठवन्धन बनेको हो । नत्र देशको विकास र समृद्धिको अवस्था फरक भइसक्थ्यो उहाँले भन्नुभयो– यसको प्रमाण किसानले चाहिएको बेला मल नपाउनु, महंगी दोब्वर बढेर जानु र देश आर्थिक संकटतर्फ धकेलिनुु नै हो । उहाँले अहिले बैंकले ऋण माग्दा पनि दिन नसक्ने अवस्था आइसकेको बताउनुभयो ।

एमाले सरकारले मुद्रा सञ्चिती १२ महिनालाई पुग्ने अवस्थामा छोडेको थियो । अहिले त्यो घटेर ६ महिनामा झरेको छ पोख्रेलले भन्नुभयो– गठवन्धन सरकार रहिरहे देश टाट पल्टिने अवस्थामा पुग्नेछ । तसर्थ मंसिर ४ गठवन्धन सरकार विदाई गर्नुको विकल्प छैन । जनतासामु यो ठूलो अवसर आएको छ । उहाँले मंसिर ४ फेरि परमादेश हटाएर जनादेशको सरकार निर्माण गर्ने पर्व भएको बताउनुभयो ।

एमाले सरकार हुँदा दाङ–सल्यान–रुकुम राप्ती राजमार्ग, घोराही–होलेरी–डोल्पा सहिदमार्ग, कर्णाली जोड्ने तुलसीपुर–सुर्खेत मार्ग, घोराही–देवीस्थान प्युठानमार्गजस्ता राणनीतिक महत्वका सडकपूर्वाधारको निर्माण, स्तरोन्नतिको काम गरिएको भन्दै पछिल्ला दिनमा सरकारले नै बजेट कटौति गर्दा जनताको विकासको काम ठप्पजस्तै भएको बताउनुभयो । दाङमै पनि घोराही–हापुर– आखा अस्पताल–पञ्कुले सडक, बबई–कोहलपुर सडक, रामपुर–भालुवाङ सडक निर्माणको चरणमा रहेको भन्दै उहाँले परम्परागत दामोदर सडकको स्तरोन्नतिको काम गरिएको बताउनुभयो । तर यी सडकहरुमा एमाले सरकारले विनियोजन गरेको बजेट गठवन्धन सरकारले कटौति गर्दा यी सडकको काम रोकिएको समेत उहाँले बताउनुभयो ।

सो अवसरमा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं दाङ निर्वाचन क्षेत्र नं.२(२) प्रदेशसभा सदस्य उम्मेदवार गिरीराज केसीले जिल्लाको विकासमा गठवन्धन सरकारले बजेट रोके पनि अब बन्ने एमाले सरकारले फेरि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस