दाङ, १ मंसिर । सहरी विकास मन्त्रालयका सचिव र डिजीले निर्वाचन आचारसंहितको उल्लङ्घन गरेका छन् । निर्वाचन आचारसंहिता विपरित मन्त्रालयका सचिव सचिव डा. रमेश सिंह र डिजी सुरेन्द्रमान श्रेष्ठ मन्त्री मेटमणि चौधरीको निर्वाचन क्षेत्रमा मध्यरातमा दलबलसहित देखिएपछि स्थानीयले लखेटेका छन् ।

मन्त्री चौधरीको निर्वाचन क्षेत्र दाङको भालुवाङस्थित पौवा होटेलबाट सचिव सिंहलाई रातको साढे १ वजे स्थानीयहरुले लखेटेका छन् । मतदाता प्रभावित गर्नेगरी निर्वाचन क्षेत्रमा मन्त्रालयका सचिव प्रवेश गरेको भन्दै स्थानीयहरुले होटेल घेराउ गरेका थिए । ‘मन्त्रीले सचिवसँग पैसा बुझ्ने र चुनावमा मतदाता प्रभावित गर्न त्यो पैसा वितरण हुने देखेपछि हामी बिरोधमा उत्रिएका हौं’, स्थानीय जगत खनालले भन्नुभयो, ‘चुनाव हुने बेला मन्त्रालयका सचिव, कर्मचारी किन यता आउनु प¥यो ? ठूलै चलखेल भइरहेको जानकारी पाएपछि हामीले बिरोध गरेका हौं ।’

सचिव सिंहसहितको टोली राती साढे १ वजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा होटल छाडेका छन् । आचारसंहिता लागु भएको अवस्थामा मन्त्रीको निर्वाचन क्षेत्रमा किन आउनु भयो भन्ने प्रश्नमा सचिव सिंहले मेरो ५ गते रिटायर हुन लागेकाले मन्त्रीलाई भेट्न आएको प्रतिक्रिया दिएको खनालले जानकारी दिनुभयो । सचिव सिंह र श्रेष्ठको टोली होटलबाट प्रदेश ३ (१०–०२२च ३४९९) नम्वरको स्कारपियो र बा २ झ २९५७ नम्वरको पिकअप गाडीमा बाहिरिएका खनालले जानकारी दिनुभयो ।

बिहानैदेखि होटेल वरपर चलहपहल देखेपछि स्थानीयहरुले निगरानी राखेको भन्दै उहाँले आर्थिक र नीतिगत दुवै चलखेल हुन लागेको बताउनुभयो । ‘बिहानैदेखि होटेल वरपर चहलपहल भइरहेको देखेपछि हामीले निगरानी बढाएका थियौं । होटेलका ३०८, ४०२, ४०३, ४०८ नम्वरका ४ वटा कोटा बुक गरेर ठूलै टोली आएको थाहा पाएपछि खोज्दै जाँदा मन्त्रालयका सचिव, डिजीसहितको टोली आएको भेटेपछि होटेल घेरेर उनीहरुलाई लखेटेका हौं’, खनालले भन्नुभयो, ‘टोलीसँग मन्त्रालयका फाइल र टिप्पणी उठाइएका कागजहरु भेटिएकाले ठूलै चलखेल भइरहेको प्रमाणित भएको छ । हाम्रो खबरदारी जारी छ ।’

मन्त्रालयका सचिव, डिजीसँग रहेका व्यक्ति को हुन् भन्ने खोजी भइरहेको खनालले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रीलाई फाइल र टिप्पणीमा हस्ताक्षर गराएर ठूलै डिल गर्ने तयारी भइरहेको थियो । टोलीसँग बंगलादेश प्रतिनिधि पठाउने व्यहोराको फाइल र टिप्पणी आफूहरुले देखेको भन्दै खनालले अन्य फाइल हेर्न नपाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस