चुनावी तयारी कस्तो छ ?
मंसिर ४ को निर्वाचन देशको राष्ट्रियता, समृद्धि, सुशासन र विकासको आधार तयार गर्ने एउटा राष्ट्रिय पर्व हो । त्यसैले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई लिएर हामी जनताको घरदैलोमा पुगेका छौ जनताको अभूतपूर्व साथ समर्थन पाइएको अवस्था छ । हामी उत्साहित छौं । एकातिर समृद्ध नेपाल सुखी नेपालीको अभियानबारे जनतालाई जानकारी गराउने अर्कोतिर जनताका सुझाव लिने काम भइरहेको छ । यो अभियानमा सिंगो नेकपा एमाले, नेता, कार्यकर्ता, शुभचिन्तक खटिनु भएको छ । आम मतदाताहरु पनि समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई मंसिर ४ मा सार्थक बनाउने दिन पर्खेर बस्नुभएको छ ।

जितको आधार के छ ?
पहिलो कुरा त दाङ जिल्लाका लागि राष्ट्रिय राजनीतिमा कस्ले भूमिका खेल्न सक्छ भन्ने कुरा आम दाङवासीले बुझिसक्नु भएको छ । किनकी एउटा सवल नेतृत्व राष्ट्रिय राजनीतिमा भूमिकाविहिन हुँदा जिल्लामा के हुन्छ र भूमिकामा रहँदा के भयो भन्ने कुरा धेरै टाढा जानुपर्छ जस्तो मलाई लाग्दैन । गठवन्धनमा सहभागि दलको संयुक्त सरकारले वुटवल पु¥याएको प्रदेशको राजधानी जिल्लामै फर्काउन हाम्रो भूमिका, नेकपा एमालेको भूमिका सबैमाझ जगजाहेर नै छ । तसर्थ सवल नेतृत्व र राष्ट्रिय राजनीतिमा कसले पहलकदमी लिन सक्छ र उ बाट जिल्ला र राष्ट्रकै विकासमा फाइदा पुग्छ भन्ने कुरा मतदाता आफैले भनिरहदा जितको आधार खोजीरहनु पर्दैन भन्ने मलाई लाग्छ । दोस्रो कुरा राजनीतिक नेतृत्वमा आएदेखि नै दाङको विकासमा पार्टीले खेलेको भूमिका पनि हो । पछिल्लो पटकमात्रै म मुख्यमन्त्रीको भूमिकामा रहदा दाङको विकासमा गरेको योगदान कम रह्यो भन्ने मलाई लाग्दैन । किनकी तपाईहरुले नै समाचार बनाइरहनु भएको छ । भाइरल रोडका नाममा । हिजो हामीलाई पानी मुनिका पुल भएको जिल्ला भनेर व्यङग्य गर्थे मान्छेहरुले आज पुलैपुलको जिल्लाकारुपमा चिनिन थालेको छ । हिजो रिफर सेन्टरकारुपमा चिनिने अस्पतालहरु अहिले दर्जनवढि विशेषज्ञ सेवासहितका अस्पताल घोराही र तुलसीपुरमा छन । आयूर्वेद अस्पताल, कोभिड विशेष अस्पताल, जिल्लामा प्राविधिक शिक्षा, कृषि आधुनिकीकरण, परम्परागत दामोदरमार्गको स्तरोन्नति यस्ता दर्जनौ विकासका काम छन । जुन सबल नेतृत्व हुँदा एमालेले गरेर देखाउँछ भन्ने कुरा हामीले पुष्टि गरेर देखाएका छौं । अर्को कुरा एमालेमात्रै राष्ट्रियता, विकास, समृद्धिका पक्षमा उभिन्छ भन्ने कुरा मतदाताले बुझिसकेकाले जित्ने आधार बलियो छ ।

प्रतिष्पर्धा त गठवन्धन सँग होला नी ?
गठवन्धन पार्टी हो र ? त्यो त सत्ता स्वार्थको गढजोडमात्रै हो । जनतालाई मल चाहिँदा वेखवर हुने, महंगी बढेर जनताले किनेर खान नसक्ने अवस्था आइसक्यो । बैंकमा पैसा सकिएर ऋण नपाउने अवस्था आइसक्यो । मुद्रा सञ्चिति घटेर विदेशबाट जनताका दैनिक जीवनमा चाहिने बस्तु खरीद गर्न नसकिने अवस्था भइसक्यो । सीमामा नेपाली मारिदा चुइक्क बोल्न नसक्ने गठवन्धनलाई जनताको साथ हुन्छ र ? अर्को कुरा जनता स्थिर सरकार, विकास र समृद्धिको पक्षमा छन । तर स्थिर सरकार निर्माण गर्ने हैसियत एमाले बाहेक अरुमा देख्नु भएको छ र ? गठवन्धनले जित्दा पनि बन्ने भनेको मिलिजुली सरकार नै हो । १७,४१, ७९ सिटमामात्रै लड्ने गठवन्धन दलले स्थिर र बलियो सरकार बनाउन सक्छन भन्ने वैज्ञानिक आधार छ र ? यो देशमा एकल बहुमतको स्थिर सरकार बनाउने हैसियत एमालेसँगमात्रै छ । किनकि हामीले प्रत्यक्षमामात्रै १४० भन्दा वढि सिटमा हाम्रो उम्मेदवार खडा गरेका छौं । मिलिजुली सरकार हुँदा सरकार ढाल्ने र बनाउनमै समय वित्छ भन्ने कुरा त सबैलाई थाहा छ नि । त्यसो भएर एकल बहुमतको स्थिर सरकार बनाउन गठवन्धनसँग कुनै प्रतिष्पर्धा नै छैन ।

एमालेलाई किन मत दिने ?
पहिलो कुरा दाङको विकास र समृद्धिका लागि मत दिने हो । हामी आउँदा काम हुन्छ भन्ने कुरा पुष्टि गरेर देखाएकै छौ त । कसैले गर्न नसकेको देशको गुमेको भूमि नेपालको चुच्चे नक्सामा समेटेर देखाएका छौं । अव फिर्ता ल्याउँछौ । हामी हुँदा ठेकेदारले मल नल्याउँदा पनि तत्कालिन प्रधानमन्त्री केपी ओलीले बंगलादेशको प्रधानमन्त्रीसँग सिधा कुरा गरेर किसानलाई मल उपलव्ध गराउनु भएकै हो । तर अहिले हामी नहुँदा किसानले मल किन पाएनन त ? सरकारको पहलमा ल्याउन सकिदैनथ्यो र ? त्यसैले हामी काम गरेर देखाउँछौ । हाम्रै नेतृत्वले वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य विमा, सुत्केरी भत्ता, रोजगारमा आधारित सामाजिक सुरक्षा कोष ल्याएको हो । मुख्य कुरा राष्ट्रिय स्वाभिमान र स्वाधिनताको रक्षाका लागि एमालेलाई मत दिनुपर्छ । हाम्रै कारणले दाङ फिर्ता गरिएको राजधानी व्यवहारमा कार्यान्वयन गर्नका लागि मत दिने हो । त्यसैगरी भूमिहीन, सुकुम्वासी, अव्यवस्थित वसोवासीलाई पुर्जा उपलव्ध गराउनका लागि, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच स्थापित गर्नका लागि, जनताका आधारभूत आवस्यकता पूर्तिका लागि र समुन्नत दाङ निर्माण तथा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पुरा गर्न एमालेलाई मत दिनुपर्छ ।

मुख्य एजेण्डा के हुन त ?
दाङको समग्र विकासका लागि एमालेको तर्फबाट हामीले भर्खरै पाँच वर्षका २३ प्रतिज्ञा र २ सय ३५ अठोट सार्वजनिक गरेका छौं । केन्द्रमा पनि २० ग्यारेन्टीकारुपमा पार्टीको संकल्प पत्र सार्वजनिक गरिसकेको अवस्था छ । एजेडागत विवरण धेरै छन तर समृद्ध दाङ एमालेको अभियान हो । त्यस्तै समृद्ध नेपाल सुखी नेपाली एमालेको अभियान हो । यही आकांक्षा पुरा गर्न गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, स्वरोजगार र उद्यम विकास, किसानलाई प्रोत्साहन, सिंचाई,सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माण हाम्रो प्राथमिकताको विषय हो । अर्को कुरा हिजो हामी व्यवस्था परिवर्तनका लागि लड्यौं । गणतन्त्र ल्यायौं । धर्मनिरपेक्षता, सामानुपातिक समावेशीता, राज्यको पुनरसंरचना गरेर राजनीतिक कोर्ष पुरा ग¥यौं । अहिलेको समय विकास र समृद्धिको हो । त्यसका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवस्यकता छ । जसले स्थिर सरकार निर्माण गरेर देश र जनताको हितमा काम गरोस । एमाले त्यही अभियानमा छ । त्यसैले समृद्ध नेपाल र सुखी नेपालीको अभियानको आकांक्षा पुरा गर्न अमुल्य मत दिएर योगदान गर्न आम मतदातालाई मेरो अपील छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस